सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेको पार्टी ‘रास्वपा’ खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफलले बुधबार निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको उक्त पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन् । यो पार्टी निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको थियो ।

रास्वपाका सभापति लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते अनागरिक भएको ठहर गरेको, निजले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेश गरी लामिछानेको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णय, निजले गरेको हस्ताक्षर समेत अवैधानिक भएको उजुरीमा उल्लेख गरिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने काम सम्बन्धी उल्लेख छ । जसमा राष्ट्रविरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने सम्बन्धी व्यवस्था छ । त्यसैले राष्ट्रिय हितविपरीत रास्वपा दर्ता भएको भन्दै खारेज हुनुपर्ने उजुरीमा जिकिर गरिएको छ ।

रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री भइसकेको तर संविधान अनुसार यो पद नागरिक भइसकेपछि मात्रै प्राप्त हुने भएकाले त्यसअघि नै अनागरिक रहेको अवस्था रविले राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएको आरोप युवराजले लगाएका छन् । राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी खारेज हुनु पर्ने उजुरीमा जिकिर गरिएको छ ।

यसअघि सर्वोच्च अदालतमा पनि युवराजले नै रिट दायर गरेका थिए । उनको रिट जारी गर्दै सर्वोच्चले रवि लामिछाने अनागरिक रहेको ठहर गरेको थियो । यसअघि उनले अध्यागमन विभाग र प्रहरी परिसर काठमाडौंमा पनि रविलाई कारबाही गर्न माग गर्दै निवेदन दिएका थिए। तर दुवै निकायले निवेदन दर्ता गर्न अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १५:३७