सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा चैते धान उत्पादन, किसानलाई बीउ, विषादी र मलखाद निःशुल्क

दुई वर्षदेखि बाँकेका किसानहरूले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगन्जले जिल्लाको बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो ।

वर्षे धान सीमित मात्रामा उत्पादन हुँदा भारतबाट ठुलो परिमाणमा चामल आयात गर्नुपर्ने भएपछि वैकल्पिक धानको उत्पादनमा जोड दिइएको परियोजना कार्यान्वयन इकाई, नेपालगन्जका प्रमुख राकेश ओझाले बताए ।

परियोजना सञ्चालन भएको पकेट क्षेत्रमा किसान छनोट गरी उनीहरूलाई धानको बीउ, विषादी र मलखाद निःशुल्क उपलब्ध गराइएको छ । पकेट क्षेत्रमा हर्दिनाथ र हाइब्रिड–१ नामक धानको खेती हुने गरेको छ । हाल धान जोन कार्यक्रम सात हेक्टर जमिनमा छ ।

यसलाई अझै विस्तार गर्ने लक्ष्य रहेको परियोजना इकाई कार्यान्वयन कार्यालयले जनाएको छ । ‘किसानलाई प्रविधिका बारेमा जानकारी दिँदै धान जोनमा विभिन्न बालीको प्रर्दशनी गरेर आर्कषण बढाउने योजना छ,’ ओझाले भने ।

उनले किसानलाई कृषि यान्त्रिकीकरणमा ५० प्रतिशत, साना सिँचाइमा ५० प्रतिशत र आधुनिक मेसिनमा ५० प्रतिशत सुविधा उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार अहिले किसानलाई साना सिँचाइ र मलको आवश्यकता छ ।

जिल्लाको बैजनाथ गाउँपालिका–२, ३ र ४ को नौवास्ता, वडा नं ७ को वनकटवा, वडा नं ८ को टिटिहिरियामा सात हजार ४२३ घरधुरी धान जोन कार्यक्रममा संलग्न छन् । जानकी गाउँपालिका–१ को साइगाउँ, वडा नं २ को बेलाभार, वडा नं ३ को नेपालगन्ज र वडा नं ४ को खजुराखुर्दमा चार हजार ७८७ घरधुरी छन् ।

त्यस्तै खजुरा गाउँपालिका वडा नं २ को खजुराखुर्द, वडा नं ४ को सीतापुरमा तीन हजार ३४४ घरधुरी सो कार्यक्रममा संलग्न भएका परियोजना कार्यान्वयन इकाइले जनाएको छ । धान जोन समन्वय समितिका संयोजक सर्वजीत विष्टले वर्षे धान भन्दा चैते धानको उत्पादन बढी भएको बताए ।

उनले किसानलाई ७५ प्रतिशत अनुदानमा सिँचाइ योजना उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्दै नहर भएको ठाउँमा खेती सफल हुने बताए । धानको बिक्री वितरणका समयमा बिचौलियाले धेरै नाफा लिने भएकाले बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने किसानहरूको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १४:२१