सूचनाको शक्ति - The Power Of Information

        

डेरीमा घीउ बनाउँदै गरेको पशुको बोसो भेटिएपछि…

रौतहटको गौर नगरपालिका–५ पोखरीस्थित फुलतारा डेरी उद्योगमा अखाद्य वस्तुहरू बरामद भएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गौर नगरपालिका–५ पोखरीको पश्चिमी डिलमा रहेको फुलतारा डेरी उद्योगमा मङ्गलवार अनुगमन गर्दा अखाद्य वस्तु फेला परेको हो ।

डेरी उद्योगमा भैँसी तथा अन्य पशुको बोसो र बोसोलाई मेशिनको मद्दतबाट घीउ बनाउन तयार पारिएका अखाद्य वस्तुहरू ठुलो परिमाणमा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए ।

प्रहरीसहितको अनुगमन टोलीले डेरीका सञ्चालक मोहम्मद मतिउल्लाहलाई नियन्त्रणमा लिएको छ । साथै त्यहाँ कार्यरत दुई जना कामदार र एक महिलालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोधपुछको क्रममा भैँसीसहित विभिन्न पशुको बोसोबाट बनाइएको अखाद्य भारतबाट विभिन्न चोर बाटो भएर नेपालमा भित्र्याइएको खुलेको छ । उक्त डेरीमा तयार पारिने घीउ गौर, काठमाडौँसहित मुलुकको विभिन्न भागमा सप्लाई गर्ने गरिएको थियो । रौतहटका सिडिओ धर्मेन्द्रकुमार मिश्रले दोषीमाथि कानुन बमोजिम कारबाही हुने बताए ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १०:५१