राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडेपछि नवनियुक्त सभामुख देवराज घिमिरेको वासस्थान अझै तय हुन सकेको छैन ।
लामो समयदेखि सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासबाट तत्कालीन सभामुख कृष्णबहादुर महरा ‘हट्नुपरे’ सँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सरेका थिए ।
तर, अग्नि सापकोटा सभामुख चयन भएर आउँदा पनि पुरानो सभामुख निवासबाट तिमिल्सिना नहटेपछि सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरिएको थियो ।
अहिले सभामुख चयन भएर आएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन्, जसका कारण सहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन चयन गर्न नै गाह्रो भइरहेको सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
ती अधिकारीले भने, ‘पुरानो सभामुख निवासबाट राष्ट्रिय सभा अध्यक्ष सर्न मान्नु हुन्न, लैनचौरमा सभामुखज्यूले जान्न भन्नु भा छ, अब नयाँ भवन कहाँ खोज्ने ? छलफलमा नै छौँ ।’ यद्धपी, सभामुख घिमिरेलाई नयाँ बास स्थानको व्यवस्थापन भने चाँडै हुने मन्त्रालयले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं