१७ वर्षीया नाबालिग बलात्कार अभियोगमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न मागसहित सर्वोच्चमा निवेदन परेको छ । महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै आज दिउँसो ३ बजे सर्वोच्चमा निवेदन दिएको हो ।
उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कारागर सुन्धाराबाट रिहा भएका उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित महान्यायाधिवक्तको कार्यालयले मंगलबार सर्वोच्चमा निवेदन दिएको हो । सर्वोच्चको सिद्धान्त, प्रतिवादनका हिसाबले त्रुटीपूर्ण रहेका कारण त्यसलाई सच्याउन माग गर्दै निवेदन दिएको महान्यायाधिवक्तको कार्यालयले जनाएको छ ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले सन्दीपलाई रिहा गर्ने उच्च अदालतको आदेश उल्ट्याएर थुनामै राख्न मागसहित सर्वोच्चमा निवेदन दिइएको बताएका छन् । ‘सन्दीपलाई २० लाख धरौटीमा छोड्ने उच्च अदालतको आदेश कानुनी व्यवस्था र सर्वोच्चले उनी संलग्नजस्तै अन्य मुद्दामा थुनछेकबारे गरेको व्याख्या प्रतिकुल छ,’ उनले भने ।
उच्च अदालत पाटनको आदेश अदालतका पुराना व्याख्या प्रतिकुल रहेका दुई आधारसहित सर्वोच्चमा दर्ता गराएको उनले जनाएका छन् । गत पुस २८ गते उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशअनुसार सन्दीप पुस २९ मा रिहा भएका थिए ।
पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले यसअघि पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएपछि सन्दीप रिहा भएका थिए । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।
सत्यपाटी संवाददाता । काठमाडौं