सूचनाको शक्ति - The Power Of Information

        

बदलिँदै राजनीति

फुट्यो सत्ता गठबन्धन, बाहिरियो नागरिक उन्मुक्ति

रेशम चौधरीको रिहाई प्रमुख मुद्दा बनाएको नागरिक उन्मुक्तिको मागप्रति सरकार सहमत नहुँदा प्रदेशमा गठबन्धनबाट अलग भएको छ ।

लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा आफ्नो छुट्टै उम्मेदवार उठाएपछि नागरिक उन्मुक्ति गठबन्धनबाट बाहिरिएको हो ।

नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिर रहेको बताइन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । जसमा सत्ता गठबन्धनबाटै दुई जना उम्मेदवार छन् ।

एमालेबाट रोल्पाका कुमार दसौदी, नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी परेको छ । एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा माघ २५ गते मतदान हुँदैछ ।

नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाई प्रमुख मुद्दा बनाएको थियो । तर, त्यसमा सरकार सहमत नहुँदा नागरिक उन्मुक्ति प्रदेशमा गठबन्धनबाट अलग भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार ११:४४