सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी एकेडेमी निर्माणमा प्राविधिक समस्या

भारतीय अनुदानमा सर्तैसर्त, ५० करोडको चेकले प्रहरी तनावमा

एक महिना हुँदा पनि भारतीय रिजर्भ बैंकबाट पैसा आउन नसकेको छैन । जसले गर्दा प्रहरी अधिकारीले अनावश्यक दुःख पाएका छन् ।

दुई देशबीच छलफल सुरु भएको २७ वर्षपछि भारतको सहयोगमा नेपाल प्रहरीको आधुनिक एकेडेमी निर्माणको काम त सुरु भयो । तर, अझै प्राविधिक समस्याले प्रहरी अधिकारी हैरान छन् ।

विगतमा भारतका सर्तैसर्तका कारण निर्माणको काम अवरुद्ध भएकोमा पछिल्लो समय अनुदानको रकम प्राप्त गर्न पनि समस्या भइरहेको छ । १० अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको एकेडेमीको ठेक्का भारतीय कम्पनी अहलुवालिया कन्ट्याक्स–रोशन कन्स्ट्रक्सन जेभीले पाएको हो ।

यसको अनुदान मोडल अनौठो छ । सो कम्पनीलाई नेपाल प्रहरीले नै सुरुमा भुक्तानी दिनुपर्ने हुन्छ, त्यसपछि मात्र भारत सरकारले त्यसको सोधभर्ना उपलब्ध गराउँछ । सो कम्पनीले दुई महिनाअघि नै नेपाल सरकारबाट ५ प्रतिशत एडभान्स लगिसकेको छ । ५ प्रतिशत ५० करोड रुपैयाँ हुन्छ, तर अझै पनि भारतीय पक्षबाट सरकारले सोधभर्ना पाउन सकेको छैन ।

भारतीय पक्षले ५० करोडको चेक प्रहरी एकेडेमीलाई उपलब्ध गराएको थियो, जुन चेक अझै साटिन नसकेको स्रोत बताउँछ । भारतीय रिजर्भ बैंकको सो चेक सरकारको खातामा जम्मा गर्न नेपाल राष्ट्र बैंकमा पठाएको थियो र उसले जम्मा गर्न नसकेपछि भारतीय रिजर्भ बैंकमा पठाएको छ ।

एक महिना हूँदा पनि भारतीय रिजर्भ बैंकबाट पैसा आउन नसकेको प्रहरी स्रोत बताउँछ । जसले गर्दा प्रहरी अधिकारीले अनावश्यक दुःख पाएका छन् । ०५२ मा तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहरा भारत भ्रमणमा जाँदा पहिलो पटक यस सम्बन्धी छलफल भएको थियो ।

त्यही वर्ष तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा यसबारे सहमति भएको थियो । संयोग, २७ वर्षपछि देउवा प्रधानमन्त्री भएकै वेला प्रतिष्ठान निर्माणका लागि सम्झौता भएको भयो  । तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारसँग गत १३ असारमा सम्झौता भएको थियो ।

प्रतिष्ठान निर्माणका लागि पनौतीमा ८२२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । पनौतीमा प्रतिष्ठान निर्माण भइसकेपछि आधारभूत र आवासीय तालिमहरू पनौतीमा र अन्य एड्भान्स तालिम हाल प्रतिष्ठान रहेको महाराजगन्जमै गर्ने प्रहरीको तयारी छ । महाराजगन्जबाट प्रतिष्ठान हटाउने निर्णय केपी शर्मा ओली सरकारले गरेको थियो । तर, प्रहरीको विरोधपछि त्यो निर्णय कार्यान्वयन भएको छैन ।

त्यसो त पनौतीमा प्रतिष्ठान निर्माणको ठेक्का पारदर्शी नभएको केही निर्माण व्यवसायीको उजुरी समेत गरेका थिए । तर, भारतको सत्तारुढ दल भाजपाका केही शक्तिशाली नेताकै सेटिङमा भारतीय कम्पनीलाई यो ठेक्का दिइएको स्रोत बताउँछ । ठेक्का दिने अधिकार भारतीय पक्षलाई नै थियो । जून ठेक्कामा ५० करोडभन्दा धेरै रकमको चलखेल भएको स्रोत बताउँछ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार ११:०४