सूचनाको शक्ति - The Power Of Information

        

अभिमत : शहीद दिवस विशेष

माल्यार्पण र मौनधारणले पूरा हुँदैन शहीदको सपना

क्रान्तिलाई आतंकवाद भन्नेहरू वर्तमान व्यवस्थाका असली हकदार भनिरहेका छन् । शहीदका नक्कली अनुयायीहरू आम जनतामा भ्रम छरिरहेका छन् ।

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए

कवि भूपि शेरचनले भनेझैं मुलुक निर्माणका खातिर हरेक ऐतिहासिक कालखण्डमा वीर र वीराङ्गनाहरूले ज्यानको उत्सर्ग गरेका छन् । स्वतन्त्रता, समानता र सार्वभौमिकताका निम्ति अविचलित यात्रामा संघर्ष गर्दागर्दै धेरैले देह त्यागेका छन् । यी तमाम शहीदलाई एकमुष्ट सम्मान र सम्झने दिन हो, माघ १६ । देश र जनताका लागि निस्वार्थ जीवन उत्सर्ग गर्नेहरू शहीद हुन् । उनीहरू युग–युगसम्म नागरिकको मन–मनमा उच्च आदर र सम्मानसहित बाँचिरहन्छन् ।

स्वाधीनता, अखण्डता एवं लोकतन्त्रका लागि बलिदान गर्ने, निष्ठायुक्त, आदर्शवान, चेतनायुक्त, वीरता, साहस र समर्पण शहीदका पर्यायवाची हुन् । तर, उनीहरूलाई माल्यार्पण र मौनधारणमा सीमित गरिएका छन् । माल्यार्पण र मौनधारणले मात्र शहीदको सम्मान र सपना पूरा हुँदैन । शहीदको सम्मान तब हुन्छ जब उनीहरूले देखेका सपना पूरा हुन्छन् । तर, आजसम्म पनि शहीदको सपना पूरा हुन सकेको छैन । हरेक वर्ष सप्ताहव्यापी शहीद दिवस मनाइन्छ । सन्दर्भ पारेर विविध कार्यक्रम गरिन्छ ।

शहीद र बेपत्ता योद्धाको सपना पूरा गर्ने प्रतिवद्धता जनाइन्छ । प्रतिवद्धता सही हुन् । तर, शहीदको सपना साकार पार्न शहीदले देखाएको बाटो हिँड्न सकिरहेका छैनौँ । भाषणमा ‘शहीदका सपना पूरा गर्छौं’ भनिरहँदा शहीदको सपना के थिए ? ती सपनाहरू कहाँ अल्मल्याइयो ? सपनाहरू पूरा गर्ने दायित्वबोध गर्न किन सकिरहेका छैनौँ ? यी प्रश्नको जवाफ हामीभित्रै खोज्नुपर्ने हुन्छ । शहीदका सपना कसरी पूरा गर्न सकिन्छ ? शहीदका सपना पूरा गर्ने बाटोमा थप शहीद भएकाहरूको योगदानको कहाँ र कति कदर भयो ? असमानता र विभेद कायम छ । विपन्नता र पराधीनता नियतिकै रुपमा बाँकी छन् । यी सवालहरू आजका यक्ष प्रश्न हुन् ।

०००

नेपालमा भएका राजनीतिक संघर्षहरूमा धेरैले ज्यानको आहुति दिएका छन् । नेपाल आमाका हजारौं सन्तान शहीद भएका छन् । पछिल्लो पटक २०६७ असार ९ गते शान्ति तथा पुनःस्थापना मन्त्रालयको सिफारिसमा १६,१९० जनालाई शहीद घोषणा गरियो । तर, शहीदको सूची तयार पार्दैमा हाम्रो अभिभारा पूरा हुँदैन । वर्तमान व्यवस्थाका निम्ति भएको दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा सयौँ योद्धा बेपत्ता भएका छन् । हजारौं घाइते अपाङ्ग भएका छन् । राज्यसँग उनीहरूको यकिन लेखाजोखा समेत छैन ।

तर, शहीद र बेपत्ता योद्धाहरुको योगदानबिना आजको परिवर्तन सम्भव थिएन । त्यसैले उनीहरू सधैं हाम्रा लागि आदर्शपात्र हुन् । तर, आज उनै शहीद र बेपत्ता योद्धाको अपमान गर्ने क्रम जारी छ । पछिल्लो कालखण्डहरूमा शहीदलाई नै अपमान गर्ने गतिविधि भएका छन् । झै–झगडा र दुर्घटनामा ज्यान गुमाएकाहरूलाई पनि शहीद घोषणा गर्नुपर्ने जस्ता नैतिकताहीन मागहरू उठे । यसले वास्तविक शहीदको भावनामा ठेस पुगेको छ, शहीदप्रति अपमान भएको छ ।

संघर्षहरूमा छानिछानी छातिमा गोली दाग्नेहरु आज शहीदका असली अनुयायीका रुपमा उभिएका छन् । क्रान्तिलाई आतंकवाद भन्नेहरू वर्तमान व्यवस्थाका असली हकदार भनिरहेका छन् । शहीदका नक्कली अनुयायीहरू आम जनतामा भ्रम छरिरहेका छन् । वर्तमान व्यवस्थाका निम्ति बलिदान गर्नेहरूको सपनामा खेलबाड गरिरहेका छन् । तिनीहरू फेरिए तर सोंच बदलिएको छैन । त्यसैले आज पनि शहीदको सपनामाथि खेलबाड हुँदैछ ।

०००

आजको सन्दर्भमा दलाल पुँजीवादी समाजलाई परिवर्तन गर्नु, नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्नु, जनतालाई अधिकार सम्पन्न बनाउनु, देशलाई स्वाधीन बनाउनु र विश्वका जनताका मुक्तिका निम्ति आन्दोलनलाई सहयोग पुर्याउनु शहीदले देखेको सपना हो । शहीदका सपना साकार पार्ने जिम्मेवारी युवा पुस्तामा छ । अब युवा विद्यार्थी आर्थिक किल्ला निर्माण गर्ने मेरुदण्ड बन्नुपर्छ ।

आर्थिक श्रममा लाग्ने र कठिनाइका क्षेत्रमा स्वयंसेवी भएर काम गर्न सक्ने ल्याकत राख्नुपर्दछ, युवाले । र, उन्नत क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्नुपर्दछ । आजका युवा मातृभूमिका लागि समर्पित हुँदै आफ्नो पुस्ताको जिम्मेवारीलाई इज्जतका साथ पूरा गर्न आवश्यक छ । राष्ट्रियहितको अग्रमोर्चामा उभिनु नै शहीदप्रतिको उच्च सम्मान हो । समृद्ध समाजवादी राष्ट्र निर्माण आजको सपना र जिम्मेवारी दुबै हो ।

रगतको मूल्यमा रक्षित देशलाई समुन्नत बनाउन, नेपाली जनताका सुन्दरतम् आदर्शलाई यथार्थमा रूपान्तरण गर्नका लागि सङ्घर्षमा गौरवमय जोस प्रदर्शन गर्नु युवाको सबैभन्दा ठूलो सम्मान र गौरवको विषय हो । युवालाई स्वदेशमै विज्ञान र प्रविधिको तीव्रतम युगलाई समेत उछिन्ने र अगाडि बढ्न सक्ने सुनौलो अवसर र व्यवस्था राज्यले मिलाउनुपर्छ । सृजनात्मकता, बौद्धिकता तथा प्रतिभालाई पूर्ण विकास गर्ने अभियानमा युवा जुट्नुपर्छ ।

हामी युवा विद्यार्थी समुन्नत नेपालका स्तम्भहरू हौ । देशलाई वैज्ञानिक तथा प्राविधिक शक्ति र प्रतिभावान् राष्ट्रको रूपमा उभ्याउन युवा शक्तिले योगदान गर्नुपर्छ । सामाजिक, राजनीतिक तथा आर्थिक कृयाकलापहरूमा सक्रियतापूर्वक सहभागिता जनाउँदै, सैद्धान्तिक तथा व्यावहारिक क्षमता विकास गर्दै सीपयुक्त क्रान्तिकारी श्रमिकको रूपमा आफूलाई तयार पार्नुपर्छ ।

०००

अन्त्यमा, शहीदको सपना र समर्पणलाई कति साकार पार्यौ, कति अधुरै छन् ? मनन गर्नुपर्छ । शहीद परिवारको अवस्था कस्तो छ ? यी प्रश्नको जवाफ हामीले नै खोज्नु छ । शहीदले खनेका गोरेटाहरूलाई मूलबाटो बनाएर गन्तव्यसम्म पुर्याउनु हाम्रै जिम्मेवारी हो । देशप्रतिको जिम्मेवारीलाई इमान्दारीका साथ पूरा गर्न हामीले कम्मर कस्नु छ । अनि शहीदको सपना साकार हुन्छ ।

शहिदहरुप्रति हार्दिक सम्मान र नमन !

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १८:११

सिफारिस