सूचनाको शक्ति - The Power Of Information

        

विमान दुर्घटना : परीक्षणका लागि ‘ब्ल्याक बक्स’सहित विज्ञ टोली सिंगापुरमा

दुई साताअघि पोखरामा दुर्घटना भएको यती एयरको जहाजको ‘ब्ल्याक बक्स’ अनुसन्धानका लागि सिंगापुर पुगेको छ । नेपालबाट गएको प्रतिनिधि यही साताभित्रै नेपाल फर्कने योजना रहेको पर्यटन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए ।

दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’ लिएर दुर्घटना जाँचबुझ आयोगका संयोजक नगेन्द्रप्रसाद घिमिरे, सदस्य एवं हवाई विज्ञ दीपकप्रसाद वास्तोला, सदस्य सचिव एवं सहसचिव बुद्धिसागर लामिछाने सिंगापुर गएको मन्त्रालयका प्रवक्ता केसीले जानकारी दिएका छन् ।

‘सिंगापुरमा ब्ल्याक बक्सभित्र रहेको एफडीआर र सीभीआर डाटा डाउनलोड, विश्लेषण लगायतको काम हुनेछ,’ प्रवक्ता एवं सहसचिव केसीले भने । दुर्घटनाको जाँचबुझका लागि ४५ दिनको समयावधि आयोगले स्थलगत अध्ययन सकिसकेको जनाएको छ ।

गत माघ १ मा पोखरामा यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना हुँदा चालक दलसहित ७२ जनाको मृत्यु भएको थियो । जहाज सेती खोंचमा खसेको थियो । जहाज दुर्घटनाको कारण पत्ता लगाउनका लागि सरकारले जाँच आयोग गठन गरेको थियो ।

पूर्व सचिव घिमिरेको संयोजकत्वमा गठित आयोगमा हवाई विज्ञद्वय पूर्व उपरथी दीपकप्रसाद बाँस्तोला र पूर्व क्याप्टेन सुनिल प्रधान र हवाई मर्मत इञ्जिनियर एकराजजंग थापा सदस्य छन् । आयोगको सदस्य सचिवमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लामिछाने छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १७:२८