महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतले शिवराज श्रेष्ठविरुद्ध अंश मुद्दा दर्ता दिएकी छन् । शिवराजले हेरविचार नगरेको भन्दै उनले आइतबार धनुषा जिल्ला अदालतमा मुद्दा दिएकी हुन् ।
निहारिकाले धनुषा जिल्ला अदालतमा दर्ता नम्बर ०७९–CP–१९७९ बाट अंश मुद्दा दर्ता गराएकी हुन् । उनले श्रीमान शिवराजले मदिरा सेवन गरी कुटपिट गरेको र आफ्नो हेरचाह नगरको आरोप लगाएकी छन् । हालको कानुनले स्पष्टरुपमा नाता कायमका लागि मुद्दा लैजानेबारे नतोकेकाले निहारिकाले नाता कायम गराउन अंश दाबी गरेकी हुन् ।
अंश दाबी गर्दै मुद्दा दिएपछि अब धनुषा जिल्ला अदालतमा प्रतिउत्तर दर्ता भएपछि दुवै पक्षलाई मेलमिलापका लागि समय दिनेछ । उनीहरुबीच मेलमिलाप भएमा श्रीमान् श्रीमतीको नाता कायम गरी दर्ताका लागि सम्बन्धित पालिकाको वडा कार्यालयमा पठाइने छ ।
यसअघि निहारिकाले शिवराजविरुद्ध धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेका थिए । प्रेमी–प्रेमिका रहेकै समयमा यौन सम्बन्ध हुँदा निहारिका गर्भवती भएपछि उनीहरुबीच मनमुटाव भएको थियो । निहारिकाले तत्कालै श्रीमती बनाएर घर लैजान दबाब दिए पनि शिवराजले विवाह गर्न नसक्ने बताएपछि उनले धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दिएका थिए ।
धनुषा जिल्ला अदालतले जबरजस्ती करणीको कसुरमा शिवराजलाई सफाइ दिँदै प्रतिवादी शिवराज श्रेष्ठ र जाहेरीवाली निहारिकाबीचको नाता सम्बन्धका विषयमा छुट्टै कानुनबाट सम्बोधन हुने भन्दै बलात्कार नभएको ठहर गरेको थियो । जिल्ला अदालतले शिवराजलाई सफाइ दिएपछि निहारिका उच्च अदालत जनकपुरमा पुनरावेदन लिएर पुगेकी थिइन् । उच्च अदालत जनकपुरमा निहारिका र शिवराज श्रेष्ठको बलात्कार सम्बन्धी मुद्दा विचाराधीन अवस्थामै रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं