सूचनाको शक्ति - The Power Of Information

        

डडेल्धुरामा भेटियो अर्को नागरिकता प्रकरण

एउटै नम्बरको नागरिकता तीन जना व्यक्तिको नाममा !

आफ्नो नागरिकता प्रमाणपत्र नम्बर ७४१००८–२७३ सँग मेल खाने अन्य दुई नागरिकता फेला परेपछि रमेशले तीन वटै नागरिता प्रमाणपत्रका तस्वीरहरु सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

रवि लामिछानेको नागरिकता प्रकरण चर्चामा रहेका बेला जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट एकै नम्बरबाट तीन वटा नागरिकता प्रमाणपत्र जारी भएको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले फरक–फरक मितिमा ७४१००८–२७३ नम्बरका नागरिकता प्रमाणपत्रहरु छुट्टाछुट्टै व्यक्तिका नाममा जारी गरेको फेला परेको हो ।

नागरिकता प्रमाणपत्रको प्रतिलिपी अनुसार रमेशबहादुर माली, हिक्मतबहादुर माली र दानबहादुर भुलको नाममा ७४१००८–२७३ नम्बरका नागरिकता प्रमाणपत्रहरु फरक–फरक मितिमा जारी भएको देखिएको छ । जिल्ला प्रशासन कार्यालयले २०६६ असार २९ गते सबैभन्दा पहिले साबिक गणेशपुर गाविस–२ का रमेशबहादुर मालीको नाममा उक्त नम्बरमा नागरिकता प्रमाणपत्र जारी गरेको थियो ।

ती नागरिकता प्रमाणपत्र जारी गर्दा डडेल्धुरामा परशुराम अर्याल प्रमुख जिल्ला अधिकारी थिए । रमेशले २०७१ पुस २० गते लिएको नागरिकता प्रमाणपत्रको प्रतिलिपीमा तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको हस्ताक्षर छ । जिल्ला प्रशासन कार्यालयले त्यही नम्बरमा २०६७ मा रमेशकै नातामा भतिजा पर्ने हिक्मतबहादुर मालीको नाममा जारी गरेको पाइएको छ ।

हिक्मतको नागरिकता प्रमाणपत्रको प्रतिलिपीमा जारी मितिमा महिना प्रष्ट नदेखिए पनि वैशाखदेखि पुसमध्ये कुनै एकमा जारी भएको देखिन्छ । महिनाको स्थानमा शून्य लेखिएको प्रष्ट देखिए पनि त्यसपछिको अंक प्रष्ट छैन । उक्त नागरिकता प्रमाणपत्र जारी गर्दा डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने थिए ।

हिक्मतले २०७४ फागुन ९ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको हस्ताक्षरयुक्त नागरिकता प्रमाणपत्रको प्रतिलिपी लिएको देखिन्छ । जिल्ला प्रशसन कार्यालयले २०६७ चैत्र १५ गते साविक कैलपालमाण्डौं गाविस–४ का दानबहादुर भुलको नाममा त्यही नम्बरको नागरिकता प्रमाणपत्र तेस्रो पटक जारी गरेको छ ।

उक्त नागरिकता प्रमाणपत्र जारी हुँदा पनि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी लामिछाने नै थिए । दानबहादुरले २०७५ वैशाख २७ गते डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणकर अवस्थीद्वारा प्रमाणित नागकिरता प्रमाणपत्रको प्रतिलिपी लिएको देखिएको छ । आफ्नो नागरिकता प्रमाणपत्र नम्बरसँग मेल खाने अन्य दुई नागरिकता फेला परेपछि रमेशले तीन वटै नागरिता प्रमाणपत्रका तस्वीरहरु सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

तस्वीरसँगै उनले लेखेका छन्, ‘यो देशमा कस्ता कर्मचारी छन् भने मेरो नागरिकतासँग मिल्ने तीन नागरिकता नम्बर मैले भेटाएको छु । अरु त कति छन् कति ? यसको उत्तर कसले दिने ? ७४१००८–२७३ नागरिकता नम्बर अरु कसैको छ भन्ने म्यासेज पाऊँ । अनुगमन गर्ने प्रशासनको त यस्तो लापरवाही छ भने अरुको कस्तो होला ?’ रमेशले आफ्नो नागरिकता प्रमाणपत्र नम्बरसँग मिल्दोे नम्बरमा जारी भएका नागरिकता प्रमाणपत्र कसरी फेला परे त ?

‘गाउँमा कृषि सहकारीको कार्य समिति गठन गर्दा नागरिकता नम्बर सोधेँ । भतिजाको त मेरै नम्बर भन्छ,’ उनले भने, ‘नागरिकता देखाऊ त भन्दा उनको र मेरो नागरिकताको नम्बर एउटै, अचम्मै परेँ ।’ रमेशले अर्को नागरिकता प्रमाणपत्र साथीमार्फत् पाएको जानकारी दिए । ‘अशोककुमार कार्की भन्ने साथी र मेरो नागरिकताको नम्बर सँगसँगै छ । उसलाई मेरो नम्बर थाहा थियो,’ उनले भने ।

उनका साथीले गृह मन्त्रालय अन्तर्गत कुनै कार्यक्रमबाट दलितहरुको तथ्यांक संकलनका क्रममा मेरो नम्बरसँग जुध्ने नागकिरता देखेपछि मलाई खबर गरेको थियो । रमेशले आफूले एउटै नागरिकता प्रमाणपत्र नम्बर भएका तीन नागरिकता फेला परेपछि स्थानीय प्रशासनमा मौखिक जारी दिँदा वास्ता नगरिएको गुनासो पनि गरे । ‘नागरिताबारे मैले प्रशासनमाको नागरिकता फाँटमा भनेको हुँ । तर, चासो देखाएनन्,’ उनले भने ।

डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी हेम ढकालले कर्मचारीको गल्तीले एउटै नम्बरमा तीन वटा नागरिकता प्रमाणपत्र जारी भएको हुन सक्ने प्रतिक्रिया दिए । उनले प्रतिक्रियामा तीन वटै नागरिकता प्रमाणपत्रको प्रतिलिपी उपलब्ध गराइदिन पनि आग्रह गरे । ‘टेक्निकल कुरा हुन सक्छ । यो मिस्टेक हो । यसले खासै ठूलो फरक पर्दैन,’ ढकालले भने, ‘ती नागरिकता हामीलाई ईमेल गरिदिनुस् । के रहेछ, बुझ्छौँ ।’

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १४:०९