गरिबको खाना भनेर चिनिएको फापर अहिले धनाढ्यले औषधिको रुपमा प्रयोग गर्न थालेका छन् । कुनै जमानामा फापर पनि खान्छन् भनेर हेला गरिएको अन्न अहिले सबैको प्रिय हुन थालेको छ । गुणकारी अन्न फापरको विशेषता नबुझ्दा गाउँघरतिर पनि हुने खानेले त भैंसीलाई खोले बनाएर खुवाउँथे ।
गरिबले मात्र विकल्प नहुँदा बाध्यताबस फापरका परिकार खाने गर्थे । फापर मानव स्वास्थ्यका लागि अति उपयुक्त, लाभदायक, स्वास्थ्यवद्र्धक खाद्यान्न हो । तर महत्व नबुझ्दा फापर लोप हुने अवस्थामा पुगेको छ । पहिला–पहिला हिमाली र पहाडी भेगमा प्रशस्त लगाइने यो बाली अहिले कतैकतै मात्र देख्न सकिन्छ ।
फापरका विभिन्न जाति भए पनि नेपालमा तिते र मिठे गरी दुई जातको खेती धेरै हुने गरेको पाइन्छ । फापरमा २४ भन्दा ग्यादा पौस्टिक तत्व पाइने हुँदा यसको लोकप्रियता बढ्दै गएको छ र हाल आएर धेरैले यसको महत्व बुझ्न थालेका छन् । फापर खाने प्रचलन एसियाबाट सुरु भए तापनि विस्तारै खाडी देश हुँदै युरोप पुगेको इतिहास छ ।
नेपाली लोक खानामा फापरका कयौं परिकार बन्ने भए पनि अहिलेका युवायुवती भने यसबारे जानकार छैनन् । चाडपर्वमा मात्र नभई जुनसुकै बेला पनि खाजा वा खानाका रुपमा खान मिल्ने फापर हेपिएको अन्नको रुपमा लिने गरिन्छ । मकै, कोदो, धान लगायत अन्य बाली जस्तो गोडमेल गर्नु नपर्ने, खनजोत गरेर छर्नु मात्रै पर्ने फापर अहिले जानकारका लागि औषधि सावित भएको छ ।
ग्रामीण समुदायका मानिसलाई सहरिया परिवेशले आकर्षण गरेको हुनाले मौलिक बालीहरु लोप हुँदै गएको छ । फापरमा पाइने तत्वहरुको उपयोगिताको बारेमा धेरै अनुसन्धानपत्रहरु प्रकाशित छन् । फापरको पिठोको अर्को विशेषता भनेको गहुँ वा जौको पिठोमा पाइने ग्लुटेन भनिने प्रोटिन यसमा पाइँदैन । त्यसैले फापरको सेवन ग्लुटेन इन्टोलेरेन्स अर्थात् ‘सेलियाक डिजिज’ हुनेहरुका लागि लाभदायक मानिन्छ ।
यो ग्लुटेनमुक्त खानेकुरा हो । फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो । फापरमा प्रशस्त मात्रामा पाइने खनिजहरु जस्तै जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन् । यसका अलावा ‘रुटिन’ भनिने लाभदायक एन्टिअक्सिडेन्ट पोलिफेनोल फापरमा प्रशस्त पाइन्छ । तर रुटिनको मात्रा फापरको नुडलमा पिठोमा भन्दा कम हुने विज्ञहरुको भनाइ छ ।
फापरमा प्रशस्त मात्रामा रेशादार तत्व, भिटामिन बी १, बी २ र बी ६, प्रोटिन, खनिजका साथै एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ । मासु नखाने साकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हो, जसमा करिब १०–१२.५ प्रतिशत प्रोटिन पाइन्छ । फापरको प्रोटिनबाट शरीरलाई चाहिने आवश्यक धेरै एमिनो एसिडहरु प्राप्त हुन्छ । जनावरको मासु खाँदा कोलेस्टेरोल अनि अन्य अस्वस्थ्यकर चिल्लो पदार्थहरु पनि खान सकिने भएकाले मुटुसम्बन्धी रोगहरुको जोखिम बढ्न सक्छ ।
फापर मधुमेह नियन्त्रणका लागि लाभदायक खानेकुरा हो । शरीरमा ग्लुकोज तह लगाउने मात्र होइन, फापरको सेवन रगतको कोलेस्टेरोल घटाउन पनि सहयोगी हुने एक वैज्ञानिक तथ्यले बताउँछ । जापानी अनुसन्धानकर्ताहरुले मुसामा गरेको अध्ययनअनुसार प्रोटिनयुक्त फापरको पिठोमा रगतमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण हुन्छ । साथै यसको सेवनबाट मोटोपन पनि कम हुनसक्ने उनीहरुको राय छ । फापरमा पाइने फाइबर ग्लुकोज मेटाबोलिजममा प्रभावकारी हुन सक्छ ।
भनिन्छ, स्वस्थ्यकर जीवन जिउन वयस्क मानिसले २५–३८ ग्राम फाइबर सेवन दिनहुँ गर्नुपर्छ । एक रिपोर्टअनुसार एक कप फापरमा ४.५ ग्राम फाइबर पाइन्छ । यसरी फापरको सेवनबाट शरीरले प्रशस्त फाइबर प्राप्त गर्न सक्छ । फापरको सेवनबाट उमेरसँग हुने मानसिक चेतनाको कमी (कग्नेटिभ लस) लाई रोक्न सक्ने वैज्ञानिकहरुको अनुमान छ । यसरी मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन र स्मरणशक्ति बढाउन फापर खानु लाभदायक हुन सक्छ ।
फापरको पिठोबाट बनेको नुडल, कुकिज वा मफिन खान सकिन्छ । जापान जस्तो औद्योगिक मुलुकमा सोवाको उत्पादन गरेर विदेशमा समेत निर्यात गरेको देखिन्छ भने हामीले पनि प्रशस्त फापर उत्पादन गरी नेपाललाई विश्वको प्रमुख फापर उत्पादक मुलुकको रुपमा चिनाउन सकिन्छ । फाइबर र एन्टिअक्सिडेन्टले भरपुर फापर जस्ता खानेकुराहरुको लोकप्रियता फंग्सनल फुडको रुपमा पश्चिमी मुलुकहरुमा बढेकाले नेपालको फापरले अन्तर्राष्ट्रिय बजारमा नाम र दाम कमाउन सक्छ ।
किन खाने फापर ?
फापर मिनेरल, भिटामिनको राम्रो स्रोत मानिन्छ । त्यति मात्र होइन, यसमा कार्बोहाइडेड, फाइबर, प्रोटिन, सुगर, चिल्लो पदार्थ र पानीको मात्रा पनि पाइन्छ । १०० ग्राम फापरमा ३४३ क्यालोरी हुन्छ भने १० प्रतिशत पानी रहेको पाइन्छ । फापर ग्लुटिनरहित हुने हुँदा यो खाना धेरैका लागि औषधि सावित भएको छ । फापर उच्च रक्तचाप हुनेका लागि पनि अत्यन्त राम्रो खाना मानिएको छ ।
मुटुसम्बन्धी समस्या हुनेले पनि नियमित फापर खाँदा फाइदा पुर्याउँछ । नियमित फापर सेवन गर्नेलाई अन्यलाई भन्दा क्यान्सर लाग्ने जोखिम कम हुन्छ । डाइबिटिजको रोगीलाई सन्तुलन राख्न मद्दत गर्छ र खाना पचाउने काममा पनि सहयोगी सावित हुन्छ । फापरको प्रयोगले ग्यालस्टोन हुनबाट पनि धेरै हदसम्म सहयोगी साबित हुन्छ । हड्डीसम्बन्धी समस्या आउन नदिन पनि नियमित फापरका परिकार सेवन गर्दा उत्तम मानिन्छ ।
आइरनको कमीले हुने अनेमियालाई पनि फापरको नियमित प्रयोग रोकथाम पुर्याउँछ । फापरमा भिटामिन ई र म्याग्नेसियम प्रशस्त पाइने हुँदा बच्चामा आस्थामा हुनबाट धेरै हदसम्म बचाउँछ । फापरबाट केके बनाउन सकिन्छ ? फापर गरिबको खाना भए तापनि धनीका लागि साँचिक्कै औषधि साबित भएको छ । फापरबाट हाम्रो देशमा कयौं लोक खानाहरु बनाउन सकिन्छ भने विदेशमा पनि यसका परिकार कयौं छन् ।
फापरको कलिलो साग उसिनेर भटमासको छोप हालेर सादेर खाँदा पनि अति नै स्वादिष्ट हुन्छ । साग पकाएर खाँदा पनि तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ । फापरको पिठोबाट ढिँडो बनाई खाँदा पनि स्वादिष्ट हुन्छ । फापरको पिठोको सेल–रोटी, बाबर, फुरौला पनि बनाउन सकिन्छ । तिते फापरको परिकार बनाएर खाँदा हल्का तितो हुने भएकोले केटाकेटीहरुले मन नपराउने र फापरको परिकारहरुमा नव युवाहरुको ध्यान नजानाले लोप हुन थालेको छ ।
तर मिठे फापरभन्दा तिते फापर स्वास्थ्यवद्र्धक मानिन्छ । टिते फापरको पिठो र कोदोको पिठो मिसाएर ढिँडो बनाएमा अत्यन्त नरम हुन्छ । चाडपर्वमा मात्र नभई जुनसुकै बेलामा पनि खाजा वा खाना खान मिल्ने फापरलाई हेपिएको बालीको रुपमा लिएको पाइन्छ । मकै, कोदो, धान लगायत अन्य बालीलाई जस्तो गोडमेल गर्नु नपर्ने खनजोत गरेर छरे पुग्ने फापर अहिले छर्न छोडिएको छ तर यसको मह्त्व र माग सहरी क्षेत्रमा दिनानुदिन बढ्दो छ ।
मुलुकका सहरी क्षेत्रमा होस या विदेशमा फापरका धेरै आधुनिक खाना बन्न थालेका छन् । फापरबाट चाउचाउ, प्यान केक, बिलिनी, जापानिज सोवा नुडल्स, डोसा, पकौडा, सलाद, सुप, बकव्हिट ब्राउनी, ग्लुटिन फ्री स्विट्स, कुकिज, मफिन, पिज्जा आदि परिकार बन्छन् । धनीहरुले औषधि मानेर खाने हुनाले अहिले ५ तारे होटलको मेनुमा पनि फापरका थुप्रै परिकार समावेश गरिएको पाइन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं