प्रतिनिधिसभा सदस्य तथा टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी पनि फरार प्रतिवादी रहेको खुलेको छ । संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
ट्र्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीले करिब १० वर्षअघि उनलाई ६ महिना कैद तोकेको थियो । अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए । उनीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
२०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा हालको लम्कीचुँहा नगरपालिका (तत्कालीन बलिया गाविस ५) का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए । मुद्दामा ट्र्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपियाँ बराबरको क्षति पु¥याएको दाबी बजगाईँले गरेका थिए । त्यसको केही वर्षपछि जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएका थिए ।
सोही घटनामा प्रहरीले शुक्रबार वीरबहादुर चौधरीलाई पक्राउ गरे पनि सांसद चौधरी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । वीरबहादुर चौधरीले मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैदमुक्त गरिपाऊँ भन्दै दिएको निवेदनमा अस्वीकार गर्दै अदालतले ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो । एउटै मुद्दामा एक व्यक्तिले कैद भुक्तान गर्दा अर्का व्यक्ति भने प्रतिनिधिसभा सदस्य निर्वाचित भएर संसदमा गइरहेका छन् ।
अदालतले उनलाई फरार सूचीमा राखे पनि राज्यशक्तिकै आडमा प्रहरीले उनलाई पक्राउ नगरेको बताइन्छ । २०७४ मा लम्कीचुहाको प्रमुख र प्रदेशसभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी निर्वाचित भएको पार्टीले टीकापुर घटनाका राजबन्दी रिहाइको मुद्दालाई नै प्रमुख एजेण्डा बनाइरहेको छ । संसदमा पनि पार्टीले रेशमसहितका बन्दीलाई रिहा गर्नुपर्ने माग सार्दै आएको छ ।
सत्यपाटी संवाददाता । कैलाली