सूचनाको शक्ति - The Power Of Information

        

सफलताको कथा

मालीबाट मालिक बनेकी ‘सनसरी’

चार्डपर्वका समयमा सयपत्री, मखमली लगायतका फूल तथा मालाको माग बढी हुन्छ । यस्ता अवसरमा सनसरीले फूल तथा बिरुवा बिक्रीबाट राम्रो आम्दानी लिइरहेकी छन् ।

विसं २०५३ मा दुई मानो आटो (मकैको पिठो) सहित चार छोराछोरी च्यापेर विकट गाउँबाट वालिङ झरिन् सनसरी सार्की । श्रीमानको उपचारमा कालीकाकोटमा भएभरको सम्पत्ति पनि सकियो र श्रीमानको आयु पनि । बस्ने, खाने ठेगान छैन तर गाउँमा बस्नुभन्दा बजारतिर झरे केही न केही काम पाइन्छ भन्ने आशासहित बजार आए । बजार आउँदा बेलुकीको छाक पुग्ने आटो मात्रै साथमा थियो ।

छोराछोरी ससाना, कहाँ बस्ने के खाने चिन्तै चिन्ताका बीच वालिङ झरिसकेपछि कोठा खोजेर भाडामा बस्न थाले । दुःख परेकाबेला काम दिने मान्छे पनि भगवान् जस्तै लाग्यो । ‘नयाँ ठाउँमा काममा नपत्याइदिएको भए झन् के हालत हुन्थ्यो होला धन्न बालुवा बोक्ने, गिटी बोक्ने काममा पत्याइदिनुभयो त्यही काम गर्न थालेँ’, उनले भनिन्, ‘दुई वर्षजति ज्यालामा यस्तै यस्तै मजदूरी गरेँ र बालबच्चा पाल्दै आएँ ।’

खाने मुख धेरै तर काम गर्ने आफू एक्लै भएकाले पनि सुरुको दैनिकी निकै जटिल भएको उनी सम्झन्छिन् । ज्याला मजदूरी गर्दै दैनिकी चलाउँदै आएकी सनसरी २०५५ सालतिर वालिङ नगरपालिकाको सरसफाइ कर्मचारीका रूपमा काम गर्न थालिन् । सरसफाइमा काम गर्दा गर्दै नगरपालिका परिसरमा सौन्दर्यकरणमा ध्यान दिँदै फूलबारी निर्माण गरियो र यसको रेखदेख र फूलहरूको व्यवस्थापन गर्ने थप जिम्मेवारी उनै सनसरीलाई दिइयो ।

कतै बाटोमा हिँड्दा राम्रो फूल, नयाँ प्रजातिको फूल देख्नासाथै त्यसकाबारेमा जिज्ञासु भई बुझ्थिन् । नगरपालिकामा मालीको जिम्मेवारी थपिएपछि भने झन् ऊर्जा मिल्यो र जिज्ञासा झनै बढ्दै गएको सम्झिन्छन् उनी । ‘बाटो हिँड्ने क्रममा कहीँकतै नयाँ तथा नौलो प्रजातिका फूल देखेँ भने त्यसको बीउ, बेर्ना वा हाँगा सङ्कलन गर्थें’, उनले भनिन्, ‘सुरुका दुई वर्ष त म नगरपालिका कार्यालयमा जाँदा एउटा न एउटा बीउ, बेर्ना, हाँगा नलिइ जान्थिन् ।’

मालीका रूपमा काम गर्न थालेकी सनसरीलाई आफ्नो मात्रै बुझाइ र रहरले नभई अझै यसलाई राम्रो र व्यवस्थित गर्छु भन्ने हुटहुटी चल्यो । फलस्वरुप उनले तत्कालीन कार्यकारी अधिकृत सुरथ पोख्रेललाई फूलबारी व्यवस्थापन सम्बन्धी तालिमका लागि सिफारिस गरिदिन अनुरोध गरिन् र काठमाडौँमा एकहप्ते तालिमसमेत प्राप्त गरिन् । नर्सरी व्यवस्थापन, गोडमेल, कटानी छटानी, फूलबारीको व्यवस्थापन सम्बन्धी तालिम लिइन् ।

त्यहाँ सिकेको सीपलाई वालिङ आएसँगै दैनिक जीवनमा प्रयोगमा ल्याइन् । ‘पहिला आफ्नै सुरमा बीउ रोप्ने, बेर्ना लगाउने काम गर्थें’, उनले भनिन्, ‘तालिमपछि कुन फूलको बीउ कुन नर्सरी गर्ने, कुन याममा लगाउने, कुनको हाँगा, कुनको बीउ लगाउने भन्ने अहिले फूल हेरेरै थाहा हुने गरेको छ ।’ सरसफाइमा झण्डै १५ वर्षजति काम गर्नुभएकी सनसरीले आठ–नौ वर्षदेखि सरसफाइसँगै मालीका रूपमा फूलबारीको स्याहारसुसार गर्छिन् ।

वालिङ नगरपालिकाको प्रशासकीय भवन परिसरमा प्रवेश गर्नासाथै झट्ट देखिने रङ्गीविरङ्गी फूलबारीको सौन्दर्यकरणमा उनको विशेष लनशीलता र परिश्रम छ । बिहानको समयमा बिरुवा रोप्ने, सार्ने र दिउँसोको समयमा सिँचाइ गर्छिन् । नगरपालिकामा आफ्नो दैनिक जिम्मेवारी पूरा गरेसँगै बाँकी रहेको समयलाई उनले वालिङकै एक सहकारीले निर्माण गरेको नर्सरीमा लगाइन् ।

नगरपालिका कार्यालय, सहकारीको नर्सरी व्यवस्थापनबाट घरखर्च चलाएर बचत गरेको रकमबाट उनले वालिङ बजारमै २० लाख मूल्यमा चार आना घडेरी खरिद गरिन् । अहिले उनको तीन कोठे पक्की घर छ । उनकै प्रेरणाबाट कान्छा छोराले अहिले आफ्नै बिरुवा नर्सरीमा काम गर्दै आएका छन् । आफ्नो घर नजिकै जग्गा भाडामा लिएर ‘वालिङ नर्सरी उद्योग’ सञ्चालन गरेका छन् ।

उनको नर्सरीमा करिब ४० प्रजातिका मौसमी तथा बेमौसमी फूलहरू पाइन्छन् । विभिन्न प्रजातिका मौसमी तथा बेमौसमी फूल, बिरुवा नर्सरी, गमला, कलमीका फूल, विवाह ब्रतबन्ध लगायतका कार्यका लागि फूलको मालाहरू उपलब्ध गराउँदै आएका छन् । वालिङमा हुने विवाह, ब्रतबन्ध तथा अन्य कार्यमा आवश्यक पर्ने फूल काठमाडौँ, पोखरा, बुटवल लगायतका ठाउँबाट आउने गरेको उनले बताइन् ।

‘फूल सम्बन्धी सबै सेवा, बिरुवा आफ्नै ठाउँमा पाउनुभयो भने पक्कै पनि ग्राहक अन्यत्र जानुहुन्न,’ उनले भनिन्, ‘त्यसका लागि अझै मौसमी तथा बेमौसमी र धेरै प्रजातिका फूलहरू थप गर्ने तयारीमा छु ।’ वालिङ आसपासमा फूलको माग राम्रो हुने गरेको छ । उनले अहिले पनि आफ्नो नर्सरीमा फूलका बारेमा जान्न बुझ्न धेरै नै आउने गरेको बताइन् । चार्डपर्वका समयमा सयपत्री, मखमली लगायतका फूल तथा मालाको माग बढी हुन्छ ।

यस्ता अवसरमा सनसरीले फूल तथा बिरुवा बिक्रीबाट राम्रो आम्दानी लिइरहेकी छन् । दृढ सङ्कल्प र मनमा इच्छाशक्ति भए विदेशिनुपर्छ भन्ने नभएको उनको कर्मबाट उदाहरण प्राप्त हुन्छ । उनले भनिन्, ‘कुनैबेला काम खोज्दै हिँडे अहिले आफ्नै नर्सरी स्थापना गरी अरुलाई पनि काम दिनसक्ने अवस्थातिर लम्कँदैछु ।’ आफूले गरेको कर्मबाट सन्तुष्ट रहेको बताउँदै जुन काम आत्मैदेखि सन्तुष्टि भएर गरिन्छ त्यसले सफलतामा पुर्याउने उनको विश्वास छ ।

नगरपालिका परिसरको सौन्दर्यकरण र हरियालीमा जोड दिंदै फलफूल तथा फूलका बिरुवा रोप्न थालिएको वालिङ नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत सुरथ पोख्रेलले बताए । स्थानीयस्तरमा पाइने विभिन्न प्रजातिका फल लाग्ने बिरुवाहरू तथा विभिन्न प्रजातिका फूलहरूको खोजी गरी लगाउन सुरु गरेसँगै कार्यालय परिसरको सौन्दर्य नै छुट्टै खालको देखिन थालेको उनी अहिले पनि सम्झिन्छन् । ‘काठमाडौँ, पोखरा तथा बुटवल गएका बेला त्यहाँबाट पनि विभिन्न प्रजातिका फूलका बिरुवा ल्याइएको थियो’, उनले भनिन् ।

तालिम लिइसकेपछि त्यसलाई व्यवहारमा उतार्ने र निरन्तरता दिएमात्रै त्यसको महत्व बढेर जान्छ । सुरुदेखि नै कामप्रति लगनशील र परिश्रमी सनसरीले फोहरमैला व्यवस्थापनसहित मालीका रुपमा जिम्मेवारीपूर्वक कार्य गर्दै आएकी थिइन् । ‘स्मार्ट सिटी’को अवधारणा अनुरूप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाको परिसरमा पुग्ने जो कोही पनि रङ्गीविरङ्गी फूलको सौन्दर्यमा आनन्दित हुन्छन् । मौसम अनुसारका विभिन्न प्रजातिका फूलहरू बाह्रैमासे फूलिरहेका हुन्छन् ।

फूलको बीउ लगाउने, बेर्ना उमार्ने, त्यसलाई रोप्ने, खनजोत, गोडमेल, कटानी छटानी सबै काममा उनलाई लामो कार्यानुभव रहेको आफूले पाएको बताउँछन् वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई । ‘कुन फूल कुन समयमा सार्ने, गोडमेल गर्ने समय, कटानी छटानी गर्ने समय सबै उहाँलाई थाहा छ’, उनले भने, ‘नगरपालिका परिसरको सौन्दर्यकरण हेर्न लायक छ ।’ उनको लगनशीलता र परिश्रमलाई मूल्याङ्कन गर्दै नगरपालिकाले यसअघि उत्कृष्ट कर्मचारीका रूपमा सम्मानसमेत गरेको थियो ।

स्रोत : रासस
प्रकाशित मिति : १५ माघ २०७९, आइतवार १६:२१