सूचनाको शक्ति - The Power Of Information

        

पश्चिम नेपालको प्रवेशद्वार नेपालगन्ज

मध्यरातमा भारतीय पर्यटन व्यवसायी जमुनाहा नाकामा आएपछि…

मानसरोवरसँगै रारा ताल, शे–फोक्सुन्डो ताल, खप्तड, बडिमालिकादेखि कर्णाली तथा सुदूरपश्चिमका हिमाल एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धनलाई केन्द्रबिन्दुमा राखिएको छ ।

शनिबार राति १२ बजेपछि नेपालगन्जस्थित रुपैडिया नाकामा चहलपहल बढ्यो । राति बन्द हुने सीमानाका जति संवेदनशील हुन्छ, त्यति नै जोखिम पनि । तर त्यसरी राति १२ बजे रुपडिया सीमामा चहलपहल बढ्नुका पछाडि अरु कारण नभई पर्यटन विषय थियो । जहाँ ६६ जना भारतीय पर्यटक व्यवसायी गाडी चढेर नेपाल आएका थिए ।

एउटा बस र तीनवटा कार चढेर नेपाल आएका उनीहरु नेपालगन्जमा आज आइतबारदेखि सुरु भएको ‘वेष्टर्न ट्राभल मार्ट’मा सहभागी बन्न चाहिरहेका थिए । टुरिस्ट एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई)को नेतृत्वमा नेपालगन्जमा आएका उनीहरूले सीमानाका रुपडियामै खाँदा र मालाको सम्मान पाए ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, नाट्टाका पूर्व केन्द्रीय अध्यक्ष अच्युत गुरागाई, पर्यटन प्रवर्द्धन मञ्च नेपालगन्जका संयोजक कृष्ण श्रेष्ठ, हानका प्रतिनिधि केशव न्यौपाने, पर्यटन व्यवसायी विपिन नेपाललगायत राति साढे १२ बजे सीमामा पुगेर भारतीय पर्यटन व्यवसायीको जम्बो टोलीलाई स्वागत गरेको हो ।

नेपालमा यति ठूलो संख्यामा भारतीय पर्यटन व्यवसायी नेपालगन्ज आएको पहिलो पटक हो । त्यसमा पनि कर्णाली र सुदूरपश्चिमको पर्यटन केन्द्रबिन्दुमा राखेर । सोमबारदेखि सुरु हुने मानसरोवर माउन्टेन फ्लाइट भारतीय पर्यटन व्यवसायीको पहिलो रोजाइमा छ । चीनमा अवस्थित कैलाश मानसरोवरको हवाई दर्शनका लागि उनीहरू शनिबार राति नै नेपालगन्ज आएका हुन् ।

अहिले पनि धेरै ठूलो संख्यामा भारतीय पर्यटक गाडी यात्रा, हवाई यात्रा र पैदल यात्रा गरेर कैलाश मानसरोवर गरिरहेका छन् । तर त्यो कठिन, जटिल र जोखिमपूर्ण भएपछि नाट्टा बाँके च्याप्टरले यसपटक हवाई यात्रामार्फत भारतीय पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गर्दैछ ।

नेपालगन्जबाट मानसरोवरका लागि पहिलो पटक बुद्ध एयरको जहाज माउन्टेन फ्लाइटका रुपमा सोमबार उड्न लागेको छ । जसमा धेरै भारतीय पर्यटन व्यवसायी, केही नेपाली पर्यटन व्यवसायी, भारतीय र नेपाली पत्रकारदेखि आम सरोकारवाला रहनेछन् । यसले पश्चिम नेपालको पर्यटन विकासमा कोशेढुंगाका रुपमा नयाँ हवाई गन्तव्य थप्ने लक्ष्य बोकेको छ ।

‘गेटवे वेष्टर्न नेपाल’ अर्थात् पश्चिम नेपालको प्रवेशद्धार भन्दै नेपालगन्जमा सुरु भएको दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्टले मानसरोवरसँगै रारा ताल, शे–फोक्सुन्डो ताल, खप्तड, बडिमालिकादेखि कर्णाली तथा सुदूरपश्चिमका हिमाल एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धनलाई केन्द्रबिन्दुमा राखिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रवेश गर्दा कोहलपुर पुग्नैपर्ने राजमार्ग र विमानस्थलका कारण पनि नेपालगन्ज स्वभाविक रुपमा नेपाली, भारतीय तथा विदेशी पर्यटकका लागि प्रवेशद्धार हो । सुविधा सम्पन्न होटल, ठूलो बजार, सीमानाका रुपडिया र त्यसैबाट नेपाल भित्रने भारतीय पर्यटकले कर्णाली र सुदूरपश्चिमको पर्यटनमा कायापलट गराउने सक्ने सम्भावना राखेका छन् ।

त्यसको सुरुवातको रुपमा नेपाल पर्यटन बोर्ड, नाट्टा, नाट्टा बाँके च्याप्टर र होटल व्यवसायीले यसपटक नेपालगन्जमा वेष्टर्न ट्राभल मार्टमा ठूलो संख्यामा भारतीय पर्यटन व्यवसायी बोलाएका हुन् । त्यसअघि भारतका वाराणासी, लखनउ, गोरखपुरमा पनि सेल्स मिसन कार्यक्रम सम्पन्न भएका थिए ।

नेपालगन्जको वेष्टर्न ट्राभल मार्ट, बर्दिया ठाकुराद्वारबाट हुने जंगल सफारी र नेपालगन्जदेखि हुने मानसरोवर फ्लाइटले अब पश्चिम नेपालको पर्यटन विकासमा नेपालगन्ज स्वभाविक प्रवेशद्वार भएर ठूलो टेवा दिने अपेक्षा पश्चिम नेपालका पर्यटन व्यवसायीमा छ । यो अभियानमा सरकार, निजी क्षेत्र, सरोकारवाला र भारतीय पर्यटन व्यवसायीसमेत सलंग्न भएपछि यसले पश्चिम नेपालको पर्यटन प्रवर्द्धनले काँचुली फेर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतवार १५:१२