सूचनाको शक्ति - The Power Of Information

        

पोल्ट्री व्यवसायमा सुधारको लक्षण

भारतीय कुखुरा आयातमा कडाई, बढ्यो स्वदेशी कुखुराको बिक्री

बर्डफ्लु लगायत पन्छीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ ।

बाँकेमा भारतबाट कुखुराको अवैध आयात घट्दै गएको छ । सरकारले सीमामा हुने तस्करी रोक्न केन्द्रबाटै कडा निर्देशन दिएलगत्तै बाँकेमा भारतबाट कुखुराको अवैध आयात घट्दै गएको व्यवसायीहरुको भनाइ छ ।

केही दिनयता बाँकेमा उत्पादन गरिएका कुखुराको खपत बढ्दै गएकाले भारतबाट कुखुराको अवैध आयातमा कमी आएको पोल्ट्री व्यवसायी सङ्घ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदी बताउँछन् । हाल केही सुधारको लक्षण देखापरेको सुवेदीले बताए ।

अहिले केही समययता स्थानीय कुखुराको बिक्री बढेको नेपालगन्ज परसपुरका कुखरापालक व्यवसायी निजामुद्दीन ईद्रिसीले बताए । अर्का कुखुरापालक किसान मुनेजर खाँले भारतीय अवैध कुखुरा आयातमा कडाइ गरेपछि कुखुराको बिक्री बढेको बताए ।

उनले अहिले केही दिनयता स्थानीय उत्पादनमा माग बढ्दै गएकोले आफूहरूमा आशा पलाएको बताए । बर्डफ्लु लगायत पन्छीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ ।

यसअघि दैनिक ६० क्विन्टलसम्म अवैध भारतीय कुखुरा भित्रिँदा यहाँको व्यवसाय धराशायी बनेको थियो । भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेकाले मुनाफाका लागि भारतीय कुखुरालाई तस्करी गरेर नेपाली बजारमा पुर्याउने गरिएको छ ।

मुख्य नाका लगायत ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक ठूलो मात्रामा भारतबाट कुखुरा नेपाल आउने गरेको र त्यसको असरले स्थानीय व्यवसायीको व्यवसाय धरापमा परेकोमा अहिले केही राहातको सङ्केत देखिएको अधिकांश व्यवसायीको भनाइ छ ।

सीमापारिबाट ल्याइएका कुखुरालाई नेपालकै उत्पादन भन्दै नेपालगन्ज, कोहलपुर र जहाजमार्फत कर्णाली प्रदेशका जुम्ला, डोल्पा र हुम्ला लगायतका जिल्लामा समेत पुर्याउने गरिएको पोल्ट्री व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।

पोल्ट्री व्यवसायी सङ्घ बाँकेले विगत लामो समयदेखि कुखुराको अवैध आयात रोक्न पटक पटक स्थानीय प्रशासन र प्रहरीको ध्यानाकर्षण गराउँदै आएको थियो । स्थानीय प्रहरी प्रशासनले पनि केही समययता अवैध कुखुरा आयातमा निकै कडाइ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले त्यस्ता अवैध आयातलाई शून्यमा झार्ने गरी काम गरिरहेको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए । सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट कुखुरा र चल्ला तस्करी हुने गरेको व्यवसायीहरूको दाबी छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतवार ११:४४