हिन्दु धर्मावलम्बीको ठूलो आस्था पशुपति मन्दिरमाथि छ । उनीहरु वर्षेनी हजारौँको संख्यामा पशुपति मन्दिर दर्शनका लागि आउने गरेका छन् । जसले नेपालको धार्मिक पर्यटनमा ठूलो टेवा दिएको छ । नेपालको पशुपति मन्दिर संसारभरका हिन्दु धर्मावलम्बीका लागि पनि विशेष भएकै कारण विश्व सम्पदा सूचीमा छ ।
जसकारण पशुपतिको प्रचारप्रसार र महिमा विश्वभर बढेको छ । पशुपतिसँगै भारतीयले ठूलो आस्था राख्ने गरेको अर्को ठाउँ हो, कैलाश मानसरोवर । चीनमा अवस्थित कैलाश मानसरोवर जान नेपालकै बाटो प्रयोग गर्नुपर्छ । मानसरोवर दर्शन गर्न यसअघि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीदेखि केही समयअघि सद्गुरु पनि आएका थिए । जसले नेपाली बाटो प्रयोग गरे ।
सद्गूरले झन् हुम्लाको लाप्चा र लिमीबाटै मानसरोवरको दर्शन गरेका थिए । यसले नेपालको पर्यटनमा झन् ठूलो टेवा दिएको थियो । त्यसपछि पटक पटक गरेर भारतीय पर्यटक नेपाल आएर हुम्लाको लिमी र लाप्चाबाट दर्शन गरेका छन् । तर अहिलेकै अवस्थाले मानसरोवर दर्शन महँगो छ ।
भारतीयहरू यसका लागि नेपालगन्ज वा काठमाडौँ आएर त्यसपछि हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गरेर हिँड्दै वा हेलिकोप्टर चार्टर्ड गरेर मानसरोवर पुग्ने गरेका छन् । तर अब भारतीयको इच्छा र आकांक्षा बुझेर नेपालगन्जबाटै माउन्टेन फ्लाइट हुँदैछ । नेपालगन्ज विमानस्थलबाट मानसरोवर दर्शन गर्ने गरि नाट्टा बाँके च्याप्टरले यस पटकको वेष्टर्न ट्राभल मार्टदेखि मानसरोवर माउन्टेन फ्लाइट सुरु गरेको हो ।
यसलाई नेपालको बाटो हुँदै मानसरोवर दर्शन गर्ने भारतीयलाई ठूलो ऐतिहासिक अवस्थामा ल्याउने उद्देश्य बोकिएको छ । माघ १६ गतेदेखि सुरु हुने माउन्टेन फ्लाइट नेपालगन्जबाट मानसरोवरकै लागि गरिने पहिलो फ्लाइट हो । बुद्ध एयरका नेपालगन्ज विमानस्थल प्रमुख विनीत शाहले पहिलोपटक गर्न लागिएको फ्लाइटले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम दिने बताए ।
यसअघि फ्लाइट नगरिएकाले मानसरोवर रुटको विषयमा तत्काल यकिन गर्न नसकिने उनले बताए । मानसरोवर जाँदा जहाजबाटै रारा, शे–फोक्सुन्डो तालदेखि केही पर खप्तड र बडिमालिका हेर्न सकिने अनुमान छ । यस्तै काञ्जिरोवा हिमाल, चंखेली हिमाल, सिस्ने हिमालदेखि अन्य कर्णाली तथा सुदूरपश्चिमका हिमालको दृश्यवालोकन गर्न सकिने पनि अनुमान गरिएको छ ।
तर त्यो भन्दा महत्वपूर्ण कुरा मानसरोवर भारतीय पर्यटकका लागि पहिलो रोजाइ बन्न सक्ला कि नसक्ला ? भन्ने मुख्य चिन्ता र चासो छ । झण्डै ६६ जना भारतीय पर्यटकसहितको माउन्टेन फ्लाइटबाट प्रभावित भएर आगामी दिनमा यसको सकारात्मक प्रभाव पारेमा भोलिका दिनमा नेपालगन्जमा भारतीय पर्यटक भरिनेछन् । भारतीय व्यापारीलाई केन्द्रित गरेर नेपालगन्जमा अहिले पाँच वटा क्यासिनो चलिरहेका छन् ।
पहिलो उडान सफल भएको खण्डमा नेपालगन्ज भारतीय पर्यटकले भरिनेछन् । जसका कारण पोखरा, मानसरोवरदेखि खप्तडसम्मका पर्यटकीय क्षेत्रमा ठूलो टेवा पुग्नेछ । पश्चिम नेपालको पर्यटनमा यसले ठूलो सम्भावना देखाउनेछ । सबैभन्दा महत्वपूर्ण कुरा पश्चिम नेपालको पर्यटकीय दृष्टिकोणमा पनि फरक पार्नेछ । पश्चिम नेपालको पर्यटकीय क्षेत्रमा निर्माण भएका पूर्वाधार संरचना, पहुँच र त्योभन्दा महत्वपूर्ण कुरा पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका सञ्चार भएमा यसको उपलब्धि असाधारण हुने देखिन्छ ।
यसका लागि पश्चिम नेपालका पर्यटन व्यवसायी यतिबेला वेष्टन ट्राभल मार्टको सफल आयोजना, व्यवस्थापनदेखि भारतीय टूर अपरेटरलाई बागेश्वरी मन्दिर, कैलाश मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरको सफल भ्रमण गराउन लागि परेका छन् । ‘हाम्रो उद्देश्य पश्चिम नेपालको पर्यटन विकासमा नयाँ आयाम थप्ने हो । यसका लागि ट्राभल मार्टकै बेलामा मानसरोवर माउन्टेन फ्लाइट गर्दैछौँ,’ आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘मार्टसँगै पश्चिम नेपालको नयाँ गन्तव्य र पर्यटन प्रवर्द्धनमा मानसरोवरका लागि माउन्टेन फ्लाइटले ठूलो भूमिका खेल्नेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं