सूचनाको शक्ति - The Power Of Information

        

भारतीय सेनाका दुई लडाकु विमान दुर्घटनाग्रस्त

भारतीय वायुसेनाका दुई लडाकु विमान भारतको मध्य प्रदेशमा दुर्घनागस्त भएको छ । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार शनिबार भारतीय वायुसेनाका सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएको हो ।

मोरेनाका जिल्ला प्रहरी उपरीक्षक आशुतोष बागरीले घटनाको पुष्टि गरेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । मध्य प्रदेशका एडीजी आदर्श कटियारका अनुसार विमान दुर्घटनाको कारण भने स्पष्ट भइसकेको छैन ।

दुर्घटनामा परेका लडाकु विमानबाट दुई जना पाइलटले आफूलाई विमानबाट अलग गरेको उनले बताएका छन् । पीटीआईका अनुसार दुर्घटना हुनुअघि भारतीय वायुसेनाका दुईवटा लडाकु विमान ग्वालियर विमानस्थलबाट उडेका थिए ।

घटनाप्रति दुःख व्यक्त गर्दै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले भनेका छन्, ‘मुरैनाको कैलारस नजिक वायुसेनाको सुखोई–३० र मिराज–२००० विमान दुर्घटनाको खबर अत्यन्तै दुःखद छ । मैले स्थानीय प्रशासनलाई छिटो उद्धार र राहत कार्यमा वायुसेनालाई सहयोग गर्न निर्देशन दिएको छु ।’ उनले शोसल मिडिया ट्वीटरमार्फत दुःख व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १६:२३