नेपालको सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै ‘पृथ्वीकै अनागरिक’ बाँचिरहेका स्टेटलेस अर्थात् राज्यबिहीन साथी रबिजी,
तपाईंले देशमा परिकल्पना नै गर्न छुटेका विषयहरु समेत उजागर गरेर देश र जनताकै लागि योगदान गरिरहनु भएको छ । मात्तिने वा आत्तिने परिस्थितिबाट बाहिर आएर संयमता र धैर्यताका साथ यो खेलमा अगाडि बढ्नुभयो भने आजका यिनै ब्यवधान र अप्ठ्यारा गौंडाहरु तपाईंको मात्र होइन देशकै जीवनमा इतिहास बन्नेछन्, नजीर बन्नेछन् ।
‘भोलि अर्को कोही राज्यबिहीन (स्टेटलेस) नबनोस्’का लागि आज तपाईं स्टेटलेस हुनु भनेको पनि परिवर्तनको एउटा क्रान्ति हो । फैसलाअनुसार कुनै समय एक साथ दुई वटा देशको नागरिक रहेको तपाईं अहिले कुनै पनि देशको नागरिक हुनुहुन्न । यो आश्चर्य संसारका बिरलै मान्छेको जीवनमा मात्र हुन्छ, त्यो तपाईं बन्न पुग्नुभयो । तर, यो समय पनि छिट्टै पार हुनेछ । र, हामी मिलेरै परिवर्तनको यो ऐतिहासिक अठोटलाई पूरा गर्नेछौं ।
केही खत्तम भइसकेको छैन, बरु झन् बलियो भएर अगाडि बढ्न तपाईंको जीवनको एउटा ‘फिल्म’ले खतरनाक उपकथा पाएको छ ! दुखी हुनुपर्ने रत्तिभर कारण छैन । हामी सँधै सँगै छौं । यद्यपि म अलिकति पछि फर्किन चाहन्छु जो बताएर तपाईंलाई आगामी दिनमा दूरदर्शिताका साथ अगाडि बढ्न सजिलो होस् । संसारमा कुनै पनि चिजबस्तु वा विचार एक प्राकृतिक विकासबाट सम्भव र सफल हुन्छ, मेरो मान्यता छ ।
त्यसैले ‘छिट्टै खाउँ, जल्दै मरुँ’ नगरी हतारपूर्वक सत्तामा जानु हुन्थेन भन्नेमा म आज पनि अडिग छु । जबकि तपाई हामीलाई राम्रोसँग थाहा थियो र छ कि नेपालको अहिलेको संसदीय व्यवस्था भनेको एकले अर्कोलाई सिध्याउने र जसरी पनि सत्ताको ललिपप लिएर जनतालाई झुक्याउने ब्यवस्था हो । जब तपाईंको पार्टीको वा कसैको पनि बहुमत छैन, हुने खेल यस्तै हो, भयो ।
तर, स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै एकदम हतार गरेर जब तपाईं सत्तामा जानुभयो र जेजे गर्नुभयो वा बोल्नुभयो जस्तो कि, क्याबिनेटभित्रैको प्रतिपक्ष बन्नेदेखि पहिलो निर्णय निर्मला हत्याकाण्डको फाइल उतार्ने हुँदै भीभीआइपीका सुरक्षाकर्मी फिर्ता बोलाउने र क्रमश क्रसर उद्योगहरु बन्द गर्नेसम्म आइपुग्दा त तपाईंलाई तपाईंका आफ्नै निर्णयहरुमध्ये कुनै एकले वा ती सवै निर्णयहरुले नै स्वत सरकारबाट गलहत्याउने थिए ।
किनकी यस्तो अवस्थामा सरकारमा जानु भनेको अबगाल आर्जन गर्नु मात्र थियो । त्यसमाथि पनि तपाईं स्वयम्का लागि त झन् यो डरलाग्दो विषय थियो सत्ता । आज लाग्ला फरक विषयले तपाईंलाई सत्ताबाट बाहिर निकालिदियो तर यसभित्र पनि त्यही गन्ध छ र यदी यो विषय थिएन भने पनि हुनेवाला यस्तै–यस्तै थियो ।
सम्झिनुस्, त्यो चुनावी माहौल ! तपाईंको जीतको समय ! त्यो एक महिनाअघिको रबि लामिछाने र अहिले सत्तामा गएर फर्किएको रवि लामिछाने ! अब यी दुई रवि लामिछानेहरु भए ! र, यी दुईबीच अब धेरै अन्तर परिसकेको छ ! यसको मतलब नेता हुनु भनेको दूरदर्शी हुनु हो, तपाईंले जाबो यति एक महिनाको दूरी पनि अनुमान गर्न सक्नुभएन र जनताको चित्त दुखाउनुभयो ।
जबकि तपाईंलाई जति तपाईंको नागरिकता वा अरु विषयबारे यो दुनियाँका कुनै पनि वकिल, न्यायाधीश त के कसैलाई पनि थाहा थिएन एकातिर, अर्कोतिर जनताले आफ्नो राजनीतिक छाक काटेर दिएका त्यो अपार मतको भारी पनि गर्हुंगो भएको थियो, त्यो देखिन्थ्यो । एकदिन छिट्टै भेटेर यी सबैलाई केलाउँला, तर यतिवेला तपाईं एउटा चरणमा हुनुहुन्छ र यसलाई पार लगाउनु छ ।
यसका लागि जम्माजम्मी एउटै बाटो छ त्यो हो नेपाली नागरिकता लिने प्रक्रियामा तत्काल जाने र उपनिर्वाचनको बाटो हुँदै परिवर्तनको बाटोमा पुन अघि बढ्ने । तर, सुनिरहेको छु, यो नागरिकताको विषयभन्दा पनि डरलाग्दो गरेर तपाईंको पासपोर्ट विषयको फैसला हुँदैछ ! अब तपाईंले आफैं जनतामाझ उभिएर भनिदिनु होला कि साँच्चै केके गर्नुभएको थियो ? जसले गर्दा जनताले सम्पूर्ण सत्य समयमै थाहा पाउन् ।
एक समालोचनात्मक साथी हुनुको नाताले यी सबै शब्दहरुको तात्पर्य, नेपालमा उदाउँदै गरेको नयाँ पुस्ताको आवाज असफल नहोस्, नहारोस् यो पुस्ता परिवर्तनको लडाईं र मैले भन्न खोजेको यही हो कि एक जुगमा आएको एक दिन खेर नजाओस् । जय स्वाभिमान !
प्रेम बानियाँ । अमेरिका