सूचनाको शक्ति - The Power Of Information

        

सरकार बेवास्ताको उदाङ्गो रुप

राजा महेन्द्रले उद्घाटन गरेको कान्ति लोकपथ ६६ वर्षसम्म अधुरै

कान्ति लोकपथ आयोजनामा हालसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन ।

काठमाडौँलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको कान्ति लोकपथ निर्माण सुरु भएको ६६ वर्ष बित्यो । तर हालसम्म पनि यसले मूर्तरुप लिन सकेको छैन । आयोजनामा हालसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन ।

सडक निर्माण गर्न नेपाली सेनाको नेतृत्वमा विसं २०१३ मा ट्र्याक खन्न सुरु गरिएको थियो भने २०१६ सालमा सकिएको थियो । ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र शाहले हेटौँडाको बुद्धचोकदेखि जीपमा ललितपुरको टीकाभैरवसम्म आएका थिए ।

राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख सडकको भित्तामा अहिले पनि देखिन्छ । कुल ९१ किलोमिटर लामो सडक निर्माणमा राज्यको पर्याप्त ध्यान पुग्न सकेको देखिन्न । कान्तिलोकपथ आयोजनाका प्रमुख सुरेश न्यौपाने पुरानो ठेक्का सम्पन्न नहुँदा र राज्यले उचित ध्यान नदिँदा नयाँ काम हुन नपाएको बताउँछन् ।

‘पुराना ठेक्काका काम द्रुतगतिमा भइरहेका छन्,’ उनले भने, ‘अर्थ मन्त्रालय समक्ष बहुवर्षीय ठेक्का हुने गरी रू ६६ करोडको योजना सहमतिका लागि पठाएका छौंँ । योजना आयोगबाट पनि सिफारिस भइसकेको छ ।’ उनका अनुसार अर्थ मन्त्रालयले सहमति दिए डेढ  वर्षभित्र कान्ति लोकपथ ‘डवल लेन’सहित सञ्चालन हुनेछ ।

कान्ति लोकपथ आयोजनाका इञ्जिनियर रविन्द्र महर्जनका अनुसार अहिले दुईवटा पुरानो ठेक्काको काम भइरहेको छ । पहिलो ठेक्का अन्तर्गत हेटौँडाको बुद्ध चोकलाई जिरो मानेर ५७ किलोमिटरदेखि ६४ सम्म सात किलोमिटर कालोपत्र गर्ने काम भइरहेको छ । यसमध्ये करिब दुई किमी सम्पन्न भइसकेको छ ।

उनका अनुसार बिरुवा एसएल सुनकोसी कन्ट्रक्सनले रू १९ करोड ३९ लाख ८३ हजार ८६४ मा लागतमा काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७२–०७३ मा सम्झौता गरेको थियो । विसं २०७३ साउन १६ मा सम्झौता भएको यो ठेक्काको अन्तिम पटक २०७९ चैत ३० सम्म सम्पन्न गर्नेगरी म्याद थप भएको इञ्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।

त्यस्तै दोस्रो ठेक्का अन्तर्गत ग्याबिन भर्ने, मेसिनरी वाल लगाउने, ढलान लगायतका स्ट्रक्चर बनाउने र टालटुल गर्ने काम भइरहेको छ । यसका लागि नागार्जुन सर्वशक्ति जेभी, लिटी कालिका कन्ट्रक्सन एण्ड सप्लायर्स, एटलान्टिक नेपाल, थोदुङर विकास एण्ड ब्रदर्श जेभीले काम गरिरहेको उनको भनाइ छ ।

सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र सकिए पनि अझै केही ठाउँमा कालोपत्र गर्न बाँकी रहेको कान्ति लोकपथ योजनाले जनाएको छ । मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालोपत्र हुन बाँकी कान्ति लोकपथ आयोजनाका इञ्जिनियर महर्जनले बताए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १७:१९