सूचनाको शक्ति - The Power Of Information

        

आज ‘श्रीपञ्चमी’

आज श्रीपञ्चमी, देशैभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

विशेष समारोहमा वसन्त श्रवण

आज (बिहीबार) माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी, देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वलाई ‘श्रीपञ्चमी’ पनि भन्ने गरिन्छ ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्दछन् ।

सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पूज्ने गर्दछन् । आजैदेखि बालबालिकाहरुलाई अक्षाराम्भ पनि गराउने चलन छ । आजदेखि वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिएको हो ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशैभर रहेका सरस्वती मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्दछ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

वसन्त पञ्चमीको अवसरमा राष्ट्रप्रमुखले हनुमानढोका दरबारको नासलचोकमा आयोजना हुने विशेष समारोहमा वसन्त श्रवण गर्ने चलन छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार बिहान १० बजेर ४७ जाँदा राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त श्रवण समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार ०७:३७