सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीमा समाहित हुन वामदेव गौतम सकारात्मक

पुराना कम्युनिष्ट नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुन सकारात्मक देखिएका छन् । पूर्व एमाले नेतासमेत रहेका नेता गौतमले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्दै आफू एकीकृत समाजवादीमा समाहित हुन तयार रहेको प्रतिकृया दिएका हुन् ।

भेटवार्ताका क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेता गौतमलाई यथाशीघ्र पार्टीमा एकतावद्ध भएर अघि बढ्न प्रस्ताव गरेका थिए । जवाफमा नेता गौतमले छिट्टै निर्णय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भेटका क्रममा नेता गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरू अध्यक्ष नेपाललाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष नेपाल र नेता गौतमबीच दस्ताबेजहरू अध्ययन गर्ने र त्यस विषयमा अर्को भेटमा छलफल गर्दै एकताका लागि थप प्रकृया अघि बढाउने सहमति भएको छ । भेटमा एकीकृत समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधरलाई अघि राखेर नेता गौतमले एकतावद्ध भएर अघि बढ्ने समय टाढा नरहेको समेत प्रतिकृया दिएका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको तत्कालीन ‘नेकपा’ विभाजन हुँदा नेता गौतम भने दुवै समूहमा नलागेर ‘नेकपा एकता अभियान’ सञ्चालन गरेर बसेका थिए । त्यसयता उनी कुनै पार्टीको जिम्मेवारीमा छैनन् । पछिल्लो समय गौतमले केही साना कम्युनिष्ट नामका समूहहरूलाई एकतावद्ध गर्दै उक्त अभियानलाई नै दलको रुपमा अघि बढाउने प्रयास गरेका थिए । तर, उनको प्रयास भने सफल हुन सकेन ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १७:३७