चालु आर्थिक वर्ष २०७९–०८० को ६ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकानुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।
तथ्यांकानुसार गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २०.६८ र निर्यात ३२.०१ प्रतिशतले कमी आएको हो । गत आवको पुससम्म नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाख रुपैयाँको वस्तु आयात भएकामा चालु आवको सोही अवधिमा सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको आयात भएको हो ।
गत आवको पुससम्म एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तुको निर्यात भएकामा चालु आवको सोही अवधिमा जम्मा ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको छ । तथ्यांकानुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७५ र निर्यातको हिस्सा ९.२५ प्रतिशत छ ।
सात खर्बकोे व्यापार घाटा
चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा सात खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । विभागले सार्वजनिक गरेको तथ्यांकानुसार वैदेशिक व्यापार घाटा सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको छ । समीक्षा अवधिमा नेपालले आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।
गत आवमा आठ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको थियो । विभागको तथ्यांकानुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १९.१५ प्रतिशतले घटेको छ ।
तथ्यांकानुसार ६ महिनामा नेपालले छिमेकी मुलुक भारतसँग मात्र चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजारबराबरको व्यापार घाटा व्यहोरेको छ । उक्त अवधिमा नेपालले भारतबाट चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात गरेको छ । ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार रुपैयाँको निर्यात गरेको छ ।
आयात प्रतिबन्धकोे असर राजस्वमा
सरकारले सवारीसाधान लगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजस्वमा देखिएको छ । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ७४ अर्ब ७६ करोड ४२ लाख ५१ हजार रुपैयाँबराबर राजस्व संकलनमा कमी आएको छ ।
गत आर्थिक वर्षको ६ महिनामा दुई खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार राजस्व संकलन गरेकोमा चालु आवमा सोही अवधिमा एक खर्ब ८२ अर्ब ८४ करोड रुपैयाँबराबर राजस्व संकलन भएको छ । सरकारले सबै प्रकारका मदिरा, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल, ३०० डलरभन्दा माथिको मोबाइल र सवारीसाधन आयातमा प्रतिबन्ध हटाइसकेको छ ।
विभागका अनुसार ६ महिनामा नेपालले विभिन्न देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाखबराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ । तर, मंसिरमा एक खर्ब ३२ अर्ब बराबरको विदेशी वस्तुको आयात भएकामा पुसमा एक खर्ब २७ अर्बबराबरको मात्र आयात थपिएको हो ।
१४८ देशबाट आयात
विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकानुसार नेपालमा विभिन्न १४८ देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँबराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्यांकानुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।
६ महिनाको अवधिमा नेपालले भारतबाट मात्र चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख रुपैयाँभन्दा बढीको आयात गरेको छ । कुल चार खर्ब बढीको आयात हुँदा ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजारबराबरको मात्र निर्यात गरेको छ । नेपालले भारतसँग मात्र चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ ।
भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । ६ महिनाको अवधिमा चीनबाट एक खर्ब नौ अर्ब ९७ करोड ८७ लाखबराबरको आयात भएको छ । ३४ करोड ११ लाख रुपैयाँको मात्र निर्यात भएको छ । चीनसँग मात्र एक खर्ब नौ अर्ब ६३ करोड ७५ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं