सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा फेरि भुकम्प

बाजुरामा भूकम्प, दिल्लीसम्म धक्का, भत्किए घर

भूकम्पले सुदूरपश्चिमका विभिन्न ठाउँमा भौतिक संरचनामा क्षति पुर्याएको छ ।

बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुाराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो परकम्प नभई नयाँ भूकम्प हो । उक्त भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पको धक्का दिल्लीसम्म महसुस गरिएको थियो ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार दिल्लीमा समेत भूकम्पको झड्का महसुस भएको थियो । उत्तर प्रदेश, उत्तराखण्डका पनि थुप्रै क्षेत्रमा भूकम्पको धक्का महसुस भएको आजतकले जनाएको छ । धक्का यति गतिका साथ थियो कि घर र कार्यालयमा रहेका व्यक्तिहरुले निकै हल्लाएको बताएका थिए ।

भूकम्पका कारण बाजुरामा घर भत्किएको छ । अहिलेसम्म तीन घर भत्किएको सूचना आएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सूर्य थापाले जानकारी दिए । उनका अनुसार मानवीय क्षतिको विवरण आएको छैन । बडीमालिका नगरपालिका–७ र ९ मा ती घर भत्किएका हुन् ।

‘अहिलेसम्म तीन घर भत्किएको सूचना आएको छ । वडा नं. ७ मा एक र वडा नं. ९ मा दुई घर भत्किएका छन्,’ उनले भने, ‘अहिलेसम्म मानवीय क्षतिको सूचना छैन । हामी विवरण संकलन गर्दैछौं ।’ भूकम्पले सुदूरपश्चिमका विभिन्न ठाउँमा भौतिक संरचनामा क्षति पुर्याएको आशंका गरिएको छ । भूकम्पले बझाङका केही अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

भूकम्पको झट्का महसुस भएका क्षेत्रका भौतिक संरचना सामान्य चिरा परेका छन् । बझाङ सदरमुकाम चैनपुरमा रहेको सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्रको भवन भत्किएको छ । जिल्ला अस्पताल बझाङको भवन पनि चर्किएको छ । चैनपुरमा रहेको एउटा घरको चौथो तलामाथि निर्माण गरिएको मन्दिर पनि भत्किएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १६:१६