सूचनाको शक्ति - The Power Of Information

        

सरकारको कार्यशैलीमा देखिएन सुधार

‘प्रचण्ड’को सचिवालयमै बिचौलिया, घेराबन्दीमा ‘प्रधानमन्त्री’

एक महिनासम्म सरकारले कतै पनि सुधारका काम गर्न सकेको छैन । बरु सरकार बिस्तारै बिचौलियाको घेराबन्दीमा पर्दै गएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको मंगलबार एक महिना पुगेको छ । तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएका प्रचण्डले यसपटक विगतका दुई कार्यकालबाट अनुभव लिएर राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर, एक महिना बित्दा पनि सरकारको कार्यशैलीमा सुधारको कुनै संकेत देखिएको छैन । एक महिनासम्म सरकारले कतै पनि सुधारका काम गर्न सकेको छैन । बरु सरकार बिस्तारै बिचौलियाको घेराबन्दीमा पर्दै गएको छ । सचिवालय नै कमजोर भएका कारण प्रधानमन्त्रीले काम गर्न नसेको प्रधानमन्त्री कार्यालयका एक सचिव बताउँछन् ।

मुख्यगरी प्रधानमन्त्रीले निजामती प्रशासन नै चलाउन सकेका छैनन् । उनले आफ्नो निजी सचिव नै विवादास्पद पात्रलाई रोजेका कारण यस्तो अवस्था आएको हो । आकर्षक कार्यालयहरुमा बसेर अकुत सम्पत्ति आर्जनको आरोपमा छानबिनमा रहेका सहसचिव नवराज ढुंगानालाई उनले सचिवालयमा राखेका छन् ।

ढुंगाना निजामती प्रशासनमा बदनाम पात्र हुन् । सेटिङबाट पैसा असुल्नमा मात्र उनी माहिर मानिन्छन् । उनको पृष्ठभूमिले पनि त्यही भन्छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँगको निकटताका आधारमा यसअघि उनी वीरगञ्ज भन्सार कार्यालयको प्रमुख हुन सफल भएका थिए । त्यसअघि महालेखा नियन्त्रक कार्यालयको प्रशासन महाशाखा प्रमुख थिए ।

त्यतिबेला लेखाका कर्मचारीको सरुवामा उनले आर्थिक चलखेल गरेको कर्मचारीहरु बताउँछन् । उनीविरुद्ध अख्तियारमा तीन वटा उजुरी छानबिनको क्रममा छन् । १३ पुस २०७९ मा अख्तियारमा दर्ता भएको पछिल्लो उजुरीमा ढुंगानाले लेखाका कर्मचारीको सरुवाका लागि २५ हजारदेखि ५ लाख रुपैयाँसम्म उठाएको र श्रीमतीले समेत सुनका गहनाहरु उपहार लिएको उल्लेख छ ।

सो उजुरीमा भदौ १ गतेदेखिको उनको ‘कल डिटेल’ हेर्ने हो भने सरुवामा भएको सेटिङ सबै खुल्ने उल्लेख छ । अकुत सम्पत्ति ससुरालीतर्फका आफन्तको नाममा राखिएको उजुरीमा दाबी गरिएको छ । लाभ लिएर कतिपयलाई सरुवा गर्न नसकेको र अब शक्तिशाली ठाउँमा भएकाले अब मिलाइदिने भन्दै उनले फकाएको महालेखा नियन्त्रण कार्यालयका एक अधिकारीले बताए । यसअघि पनि उनीविरुद्ध अख्तियारमा उजुरी परेका थिए ।

उनी गोरखा नगरपालिका, तत्कालिन पोखरा उपमहानगरपालिका र रत्ननगर नगरपालिकामा प्रशासकीय अधिकृतको रुपमा काम गरेका थिए । त्यतिबेला उनले गरेका निर्णयविरुद्ध आयोगमा उजुरी परेपछि उनले मिलाएका थिए । रत्ननगरमा जग्गाको कित्ताकाट खुलाउने भन्दै पैसा उठाएलगत्तै सरुवा लिएर भागेको उजुरी छ । शक्ति बस्नेत वनमन्त्री हुँदा उनले डिएफओ सरुवामा चलखेल गरेका थिए ।

त्यस्तै मात्रिका यादव उद्योगमन्त्री हुँदा पनि उनको सचिवालयमा थिए । त्यतिबेला पनि आर्थिक चलखेलमा मुछिएका थिए । त्यस्तै, विमानस्थलस्थित अध्यागमन कार्यालय तथा वैदेशिक रोजगार विभाग जस्ता आकर्षक कार्यालयमा बस्दा उनले अकुत आर्जन गरेको उजुरी अख्तियारमा छ । अध्यागमनमा हुँदा भिजिट भिसामा सेटिङ मिलाएका थिए । वैदेशिक रोजगारमा पनि उनको असुली धन्दा व्यापक रहेको एक कर्मचारी बताउँछन् ।

यसअघि प्रधानमन्त्रीको निजी सचिवमा उपसचिव राखिन्थ्यो । ढुंगानाकै लागि सहसचिव राख्न थालिएको स्रोत बताउँछ । यसमा माओवादी नेता जनार्दन शर्मा, शक्ति बस्नेत र केही बिचौलियाको यसमा बिशेष स्वार्थ छ । सिंहरदबार गेटमा रहेको होटलमा बिचौलियासँग उनको जमघट हुने गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोही होटलमा नीतिगत भ्रष्टाचारका योजनाहरू बनिरहेका छन् ।

यही गिरोहका कारण प्रचण्डको तेस्रो कार्यकाल झन् बदनाम हुने जोखिम बढेको छ । आफुमाथिको अख्तियारको छानबिन रोक्नै लागि पनि जोडबड गरेर सहसचिव ढुंगाना प्रधानमन्त्री प्रचण्डको निजी सचिव बनेको स्रोत बताउँछ । अख्तियारका प्रमुख आयुक्त प्रेम राई पनि आफ्नो निकट व्यक्ति भएको भन्दै उनले कसैले उजुरी गरेर केही नहुने भन्दै धम्काउने गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १५:५४