सूचनाको शक्ति - The Power Of Information

        

गृह मन्त्रालयको अपरिपक्कता

गृहको विज्ञप्ति गृहमन्त्रीतिरै ‘ब्याकफायर’, प्रहरी लज्जित

महतोको घटना प्रहरी र गृहमन्त्री दुवैका लागि परीक्षाको विषय बनेको छ । तर, गृह मन्त्रालयको अपरिपक्कताले गृहमन्त्री र प्रहरीबीच भने सम्बन्ध चिसिएको छ ।

एमाले सांसद लक्ष्मी महतो पक्राउ नपरेको भन्दै गृह मन्त्रालयले गत शुक्रबार प्रेस विज्ञप्ति निकाल्यो । प्रहरीलाई पटक–पटक मौखिक निर्देशन दिँदा पनि पक्राउ नपरेको भन्दै प्रेस विज्ञप्ति निकालिएको थियो । त्यही दिन प्रहरीलाई फेरि लिखित निर्देशनसमेत दियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका लागि उक्त प्रेस विज्ञप्ति ‘ब्याकफायर’ भएको छ । गृहमन्त्रीजस्तो व्यक्ति सस्तो लोकप्रियताको पछि लाग्दा लामिछानेलाई ‘ब्याकफायर’ भएको हो । पूर्वप्रहरी अधिकारीले त लामिछानेको कार्यशैलीप्रति आक्रोशसमेत व्यक्त गरेका छन् ।

आफूले पटकपटक भन्दा पनि प्रहरीले नटेरेको भनेर नौंटकी गर्दै गृह मन्त्रालयले विज्ञप्ति निकालेको देखेर प्रहरी अधिकारी नै छक्क परेका छन् । किनकि फरार अभियुक्त पक्राउ गर्न गृहमन्त्रीले प्रहरीलाई निर्देशन दिनै नमिल्ने गृहमन्त्रीले प्रहरी अधिकारीहरु बताउँछन् ।

विज्ञप्ति निकालेर प्रहरीलाई नै ध्यानाकर्षण गर्नु अर्काे अनौठो विषय थियो । अर्काेतर्फ गृहमन्त्री लामिछानेका कारण प्रहरी अधिकारी लज्जित मात्र भएका छैनन्, संगठनको मनोबल समेत खस्किएको प्रहरी अधिकारीहरु बताउँछन् ।

एमाले सांसद महतोलाई पक्राउ नगरेको विषयमा प्रहरीमाथि दोष दिएर उम्कन खोजेपछि प्रहरी अधिकारीहरू लज्जित भएका हुन् । गणेश केसी, उत्तम कार्की लगायतले यस्तो अवस्थामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

गृहमन्त्रीको आदेश प्रहरीले नमानेमा प्रहरीमाथि कारबाही गर्नुपर्ने नत्र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पूर्व प्रहरी अधिकारीहरु बताउँछन् । स्रोतका अनुसार एमाले सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई प्रष्ट आदेश छैन ।

ठूलो दलको सांसद भएकाले उनलाई पक्राउ नगर्न राजनीतिक तहबाट प्रहरीमाथि दबाब छ । महतो एमाले नेताकै गाडी चढेर संसद जाने गरेका थिए । उनको बारेमा सूचना पाएर पनि केपी ओलीको दबाबका कारण प्रहरीले पक्राउ गर्न नसकेको स्रोत बताउँछ ।

महतो प्रहरीकै हत्या मुद्दाका फरार अभियुक्त हुन् । गृहले पक्राउ गर्न लिखित निर्देशन दिएपछि महतो भूमिगत बनेका छन् । महतोको घटना प्रहरी र गृहमन्त्री दुवैका लागि परीक्षाको विषय बनेको छ । तर, गृह मन्त्रालयको अपरिपक्कताले गृहमन्त्री र प्रहरीबीच भने सम्बन्ध चिसिएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १५:१०