बाँकेमा दादुरा संक्रमितको संख्या बढ्दै गएको छ । दादुरा तथा रुबेलाविरुद्धको खोप अभियान चलिरहेकै बेला बाँकेका चार पालिकामा एकैदिन २१ जना बालबालिकामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार बाँकेमा गत पुस १२ गतेदेखि फैलिएको दादुराबाट सोमबारसम्म २८६ जना बालबालिका संक्रमित भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।
जिल्लाका खजुरा, नरैनापुर र डुडुवा गाउँपालिका तथा कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा गरी ३० वटा वडामा दादुरा फैलिएको छ । संक्रमण तीब्र रुपमा फैलिएपछि बाँकेमा दादुरा रुबेलाविरुद्धको खोपलाई अभियानकै रुपमा अघि बढाइएको छ ।
बाँकेमा सोमबारसम्म ६ महिनादेखि १५ वर्षमुनिका ७९ हजार ९३५ बालबालिकालाई दादुरा रुबेलाविरुद्दको खोप दिइएको छ । दादुरा संक्रमित हुनेमा अधिकांश खोप नलगाएका बालबालिका रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सत्यपाटी संवाददाता । बाँके