सूचनाको शक्ति - The Power Of Information

        

कान्छो सांसद भन्दै सोविताले पहिलो सम्बोधनमै किन बोलिन् झुट ?

गत शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले पहिलो पटक प्रतिनिधिसभामा सम्बोधन गरिन् । रास्वापका उपसभामुखको उम्मेदवार इन्दिरा रानाको प्रस्तावक बनेर उनले रोस्टमबाट सम्बोधन गर्ने अवसर पाइन् । उनले सम्बोधन कवितात्मक शैलीमा सम्बोधन सुरु गरिन् ।

गत मंसिर चार गते सम्पन्न निर्वाचनबाट संसद्मा करिब एकतिहाइ नयाँ अनुहारहरू संसद्मा आएपछि राजनीतिमा वसन्त छाएको बताइन् । त्यसपछि आफ्ना उनले आफ्ना मतदाताहरूलाई सम्झिइन् । अनि आफ्नैबारे बोलिन् । आफू गतल नभए आफ्नो उपस्थित प्रतिनिधिसभाको ऐतिहासिक क्षण हुने बताइन् ।

आफूभन्दा कान्छो व्यक्तिले प्रतिनिधिसभाको रोस्टमबाट बोल्न मौका नपाएको हुनसक्ने बताइन् । उनले भनिन्, ‘यदि म गलत छैन भने, मेरो उपस्थिति यो सदनको निम्ति नै एउटा ऐतिहासिक क्षण हुन सक्छ किनकि सम्भवतः योभन्दा अगाडि मभन्दा कान्छो व्यक्तिले लागि यो रोस्टममा आएर बोल्ने मौका सायदै पाएको होला ।’

तर, सोविता गलत ठहरिइन् । गौतमभन्दा कम उमेरमा सांसदले यसअघि नै रोस्टमबाट सम्बोधन गरिसकेका छन् । सोविताभन्दा कम उमेरमा अभिषेकप्रताप शाह र गायत्री साहले सम्बोधन गरिसकेका छन् । अभिषेकले ०६३ साल र गायत्रीले ०६३ सालमै सोविताको भन्दा कम उमेरमा रोस्टमबाट सम्बोधन गरेका थिए ।

तर, शनिबार रोस्टमबाट सम्बोधन गरिरहँदा सोविताले आफूभन्दा अघिल्ला सांसदको उमेरबारे भने हेक्का राखिनन् । सोविताले निर्वाचन आयोगमा बुझाएको व्यक्तिगत विवरण अनुसार उनी २०५२ असार ३ गते दोलखामा जन्मिएकी हुन् । यो मिति अनुसार सोविताको उमेर २७ वर्ष ७ महिना हुन्छ ।

०३९ असोज १९ गते जन्मिएका शाह ०६३ अन्तरिम व्यवस्थापिका सदस्य र संविधानसभा सदस्य निर्वाचन ०६४ मा कपिलवस्तु–५ बाट निर्वाचित भएका थिए । शाह २५ वर्ष ६ महिनामै निर्वाचित भएका थिए । ०७० को दोस्रो संविधानसभामा पनि सदस्य निर्वाचित शाह ०७४ को प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेस प्रवेश गरेर निर्वाचित भएका थिए ।

०६४ सालमा अभिषेक मात्रै होइन सोविताभन्दा कम उमेरमा गायत्री पनि संविधानसभा सदस्य भएका थिए । उनी, नेपाली जनता दलबाट २५ वर्षमै समानुपातिक सांसद भएका थिए । अहिले पनि प्रतिनिधिसभामा सोविताभन्दा कम उमेरका सांसदहरू छन् । यद्यपि, उनीहरूले अहिलेसम्म रोस्टमबाट सम्बोधन भने गरेका छैनन् ।

अहिले प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद हुन्, झापाका २५ वर्षीया निशा डाँगी । उनी रास्वपाबाट छानिएका समानुपातिक सांसद हुन् । रास्वपाबाटै समानुपातिकतर्फबाट छानिएका जुम्लाकी विनिता कठायत २६ वर्ष वर्षकी छिन् । त्यसपछि मात्रै सोविता गौतमको नाम आउँछ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार ०८:५३