सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति निर्वाचन

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार !

वर्तमान सत्ता गठबन्धनमा गडबड नभएसम्म कांग्रेसले निर्वाचन जित्न सक्दैन । तर, सत्ता गठबन्धनमा खटपट ल्याएर भए पनि राष्ट्रपति हात पार्ने तयारीमा कांग्रेस जुटेको छ ।

निर्वाचनअघिको गठबन्धन जोगाउन नसक्दा सत्ता गुमाएको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा अन्तिम प्रयास गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगे पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर खेल सुरु गरेको कांग्रेसले राष्ट्रपति निर्वाचनलाई ‘क्लाइमेक्स’ मानेको छ ।

सोमबार बिहान बसेको पदाधिकारी बैठकबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । सभामुख र उपसभामुख निर्वाचनमा आशा गरे पनि माओवादीको साथ पाउन नसकेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा भने माओवादीको भोट पाउने आशा राखेको छ । राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसले कसलाई उम्मेदवार बनाउला ? भन्ने चासोको विषय बनेको छ ।

किनकी, राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरे पनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय गरेको छैन । तयारीकै आधारमा भन्ने हो भने कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने सम्भावना रहेको बुझिन्छ । वरिष्ठ नेता पौडेल राष्ट्रपतिका लागि निरन्तर लविङमा जुटेका छन् । कांग्रेसले राष्ट्रपतिको निर्वाचन जित्ने या हार्ने अहिलेसम्म निश्चित छैन ।

वर्तमान सत्ता गठबन्धनमा गडबड नभएसम्म कांग्रेसले निर्वाचन जित्न सक्दैन । तर, सत्ता गठबन्धनमा खटपट ल्याएर भए पनि राष्ट्रपति हात पार्ने तयारीमा कांग्रेस जुटेको छ । पराजित हुने अवस्थामा कांग्रेसले विगतदेखि नै कमजोर उम्मेदवारलाई अघि सार्ने गरेको छ । हालै सम्पन्न सभामुख र उपसभामुख निर्वाचनमा पनि कांग्रेसले कमजोर उम्मेदवारलाई नै अघि सारेको थियो ।

तर, राष्ट्रपति निर्वाचनमा पौडेल नै उम्मेदवार बन्न सक्ने कांग्रेस नेताहरु नै बताउँछन् । निर्वाचन अघिको गठबन्धन कायम रहनु र पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन सकेको भए रामचन्द्र राष्ट्रपति हुने निश्चित थियो । तर, गठबन्धन फेरबदल हुँदा राष्ट्रपति बन्ने वरिष्ठ नेता रामचन्द्रको प्रयास असफल भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १४:३६