सूचनाको शक्ति - The Power Of Information

        

हिउँ जमेपछि यारी–हिल्सा सडक अवरुद्ध

लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्रको हुम्लाको सिमकोट–हिल्सा सडक अन्तर्गतको यारी–हिल्सा सडक बन्द भएको छ । सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि उक्त खण्डको सडक बन्द भएको हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले दुई दिन लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको सडक यातायात बन्द भएको बताइन् । गत असोज कात्तिकमा परेको हिउँ सडकमा जम्दा त्यसयता सो क्षेत्रमा सडक बन्द हुँदै आएको थियो ।

उक्त सडकमा जमेको हिउँ गत पुस १७ र १८ गते नाम्खा गाउँपालिकाले डोजर लगाएर पन्छाएपछि साढे तीन महिनापछि सडक नियमित भएको थियो । उनले दुई हप्ताभन्दा बढी समय सञ्चालन भएको यारी–हिल्सा क्षेत्रको सडक यातायात सेवा पुनः बन्द भएको बताइन् ।

चार हजार ६०० मिटर अग्लो स्थानमा रहेको नारा लेक क्षेत्रको सडक हिउँले सेताम्मे भएपछि यातायात सेवा सञ्चालन हुन नसक्ने भएको हो । चीनले एकतर्फी नाका खुलाएपछि हिल्सामा व्यापारी प्रयोजनका लागि खाद्यान्न, लत्ताकपडा र विकास निर्माणको सामान हिल्सामा आयात भएको थियो ।

हिमपातले सडक बन्द भएपछि उक्त सामान हिल्सामै रोकिएको छ । सडक बन्द भएपछि सामानका साथै व्यापारी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, यारी नाका भन्सारका कर्मचारी र हिल्साका स्थानीयलाई आउजाउमा समस्या भएको छ । अब सो क्षेत्रको हिमपात डोजरले नपन्छाएसम्म यातायात सेवा सञ्चालन हुने छैन ।

सिमकोटमा पहिलो हिमपात

उत्तरी नाम्खा गाउँपालिकामा तेस्रो पटक हिमपात भए पनि सदरमुकाम सिमकोट लगायतका क्षेत्रमा भने पहिलो पटक हिमपात भएको छ । सुरुमा परेको हिउँ बिलाउने गरेको भए पनि यतिबेला भने एक फिटभन्दा बढी हिउँ जमिनमा जमेको छ । हिमपातले चिसो अत्यधिक बढेको छ भने दुई दिनदेखि हवाई सेवा बन्द छ । यस वर्षको पहिलो हिमपात भएका कारण स्थानीयमा भने खुसी ल्याएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ०९:२२