सूचनाको शक्ति - The Power Of Information

        

विमान दुर्घटनापछिको बहस

‘विमान पुराना हुन्छन्, थोत्रा हुँदैनन्’

‘दुर्घटना विमानको ‘आयु’सँग सीमित हुँदैन, सधैँ विमानलाई पुरानो भनेर दाँजिनु पनि हुँदैन । विमानको विभिन्न तहमा समय समयमा पार्टपुर्जा फेर्नुपर्छ । नियमित मर्मतसम्भार गरेर उडान योग्य अवस्थामा राख्नुपर्छ, समय पुगेपछि इन्जिन र साइकल फेरिन्छ ।’

विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो । त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि औँल्याइन्छ अर्थात् विमानचालकको लापरबाहीले दुर्घटना भएको प्रतिवेदनमा सिफारिस हुन्छन् । कतिपय दुर्घटनामा विमानको इन्जिनको कमजोरीलाई पनि औँल्याइन्छ ।

यही माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको कलसाइन नाइन–एएनसी (एटीआर–७२–२१२) विमान दुर्घटनामा चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भयो भने एक जनाको शव पहिचानको चरणमा छ । उक्त विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खोँचमा दुर्घटना ग्रस्त भएको थियो ।

तुलनात्मक रूपमा सुरक्षित मानिएको एटीआर विमान दुर्घटनामा परेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नेपालको हवाई क्षेत्रप्रति चासो हुनु स्वाभाविक हो । बुद्ध एयरका प्राविधिक निर्देशक मङ्गेश थापाले विमान दर्ताको हिसाबले पुरानो हुने तर थोत्रा नहुने बताउँछन् ।

‘दुर्घटना विमानको ‘आयु’सँग सीमित हुँदैन, सधैँ विमानलाई पुरानो भनेर दाँजिनु पनि हुँदैन । विमानको विभिन्न तहमा समय समयमा पार्टपुर्जा फेर्नुपर्छ । नियमित मर्मतसम्भार गरेर उडान योग्य अवस्थामा राख्नुपर्छ, समय पुगेपछि इन्जिन र साइकल फेरिन्छ,’ उनले भने । विमान ‘निश्चित समय’मा ‘पाटपुर्जाहरू’ फेरेर मर्मत गरी उडान योग्य अवस्थामा राखिने गरेको छ ।

निश्चित समय पुगेपछि विमानको इन्जिन फेरिन्छ । विमानको ‘साइकल’ पनि परिवर्तन गरिन्छ । ‘जुन विमान कति घण्टा उड्यो र कति साइकल भयो’ सोही आधारमा समय समयमा मर्मत गरिन्छ । विमानमा एक ‘टेकअफ’ मा एक साइकल हुन्छ । विज्ञहरूका भनाइमा एटीआर जहाजको ७० हजार साइकल पूरा भएपछि उडाउन नपाइने नियम छ । त्यो जहाजको इन्जिन राम्रो भए पनि सञ्चालन गर्न पाइँदैन ।

मानवीय क्षतिका हिसाबले नेपालमा आन्तरिकतर्फ हालसम्मकै ठूलो विमान दुर्घटना भएकाले मुलुकको समग्र हवाई क्षेत्र मात्रै हैन कोभिड–१९ महामारीले तङ्ग्रिँदै गरेको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । निर्देशक थापाका अनुसार विमान दुर्घटना ‘मानवीय पक्ष’मा धेरै आधारित हुने गर्छ ।

उनले कुनै पनि विमान खरिद गरेर त्यसै उडानमा नलगिने, विमान सञ्चालनमा ल्याउनु अघि हवाई मापदण्ड अनुरूप मर्मतदेखि सबै खाले प्रक्रिया पूरा गरेर मात्रै व्यावसायिक उडानमा लगिने भएकाले हवाई सुरक्षा सबैको पहिलो प्राथमिकता हुने उल्लेख गरे । उनले भने, ‘विमान त्यसै ल्याएर उडाने कुरा हुँदैन । ‘कष्टोमाइज मेन्टिनेन्स्’ गरेर मात्रै उडानमा लैजान्छौँ । सञ्चालन वातावरण र ‘अप्रेशन ड्युरेसन’ का आधारमा कस्टमाइज गरिन्छ ।’

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एटीआर विमान दुर्घटनापछि सर्वत्र उठेको चासो र जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले आज ‘गुणस्तरीय एवं आरामदायी उडान’ विषयक अन्तरक्रिया गरेको छ । कम्पनीले हवाई सुरक्षा गुणस्तर अभिवृद्धिमा हालसम्म गरिरहेको काम र सुरक्षा सतर्कताबारे पर्यटन र ‘एभिएसन बिट’मा काम गर्ने सञ्चारकर्मीलाई ‘एभिएसन सेफ्टी’ र उडान सञ्चालनबारे अभिमुखीकरण गराएको हो ।

कम्पनीको प्राविधिक विभाग, उडान सञ्चालन विभाग, तालिम विभाग, सुरक्षा विभागलगायत विभिन्न विभागका प्रमुख एवं विज्ञहरूले आधारभूत हवाई सुरक्षा र उडान सञ्चालनबारे प्रस्तुति गरेका थिए । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले एटीआर जहाज दुर्घटनापछि विगत केही दिनयता लगातार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नेपालका सबै हवाई सेवा प्रदायक असुरक्षित भन्ने सम्प्रेषणले कम्पनीलाई चिन्तित तुल्याएको बताए ।

उनले हवाई सुरक्षा प्रणालीमा कम्पनीले कसरी काम गरेको छ भनेर आधारभूत जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको सुनाए । सन् २०११ को दुर्घटनापछि कम्पनीको इञ्जिनियर, अप्रेशन, ग्राउण्ड ह्याण्डलिङ, जनशक्ति, वित्त तथा बजार व्यवस्थापनजस्ता हरेक विभागलाई चुस्त र प्रभावकारी बनाइएको उनले बताए ।

प्रबन्ध निर्देशक बस्नेतले कम्पनीमा आबद्ध एक हजार ५०० कर्मचारीलाई नियमित तालिम दिएर र भौतिक पूर्वाधार जगेडा पाटपुर्जा एवं ‘टुल्स’मा अर्बौ खर्चेर गुणस्तरीय वायुसेवाको रूपमा स्थापित गर्न सफल भएको दाबी गरे । बुद्ध एयरकै उडान सञ्चालन निर्देशक सुवर्ण खरेलले विमान उडानका विभिन्न प्रणालीबारे जानकारी गराएका थिए । कम्पनीसँग करिब १५० विमान चालक (पाइलट) रहेका छन् ।

तीन एटीआर–४२ र ११ एटीआर–७२ सिरिजका गरी कूल १४ विमानमार्फत सेवा सञ्चालन गरिरहेका छन् । अन्तर्राष्ट्रिय प्रचलन, हवाई मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को मापदण्ड अनुरूप सुरक्षा गुणस्तर व्यवस्थापनमा कम्पनी लागिपरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए ।

दुर्घटना लगत्तै सरकारले छानबिन समिति बनाउने र समितिको प्रतिवेदन प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । दुर्घटनाको क्रम रोकिनुभन्दा बढिरहेको छ । क्यानका अनुसार हालसम्म मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी १०५ विमान दुर्घटना भएका छन् । यी दुर्घटनामा नौ सयभन्दा बढी मानवीय क्षति भएको छ ।

बुद्धले बेच्यो दुई बिचक्राफ्ट विमान

बुद्ध एयरले पहिलो व्यावसायिक उडान सुरु गरेको बिचक्राफ्ट ‘बी १९०० डी’ विमान बिक्री गरिएको जनाएको छ । उडान सुरु गरेको २५ वर्षपछि कम्पनीले दुई थान जहाज क्यानेडियन कम्पनीलाई उक्त जहाज बिक्री गरिएको जनाएको हो ।

एटीआरबाटै सबै गन्तव्यमा उडान गर्दा सजिलो हुने भएकाले बुद्धले बिचक्राफ्ट बिक्री गरेको कम्पनीले उल्लेख गरेको छ । पुरानो जहाज भए पनि मर्मतपछि जहाजले काम गर्ने हुँदा उक्त कम्पनीले खरिद गरेको बुद्धले बताएको छ । कम्पनीले १८ सिट क्षमताका यी जहाज २५ वर्षसम्म नियमित उडान गरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ०८:४६