सूचनाको शक्ति - The Power Of Information

        

होटल पर्यटनमा जागेको आशा

होटल हब बन्दै बाँके, व्यवसायीले गरे १२ अर्बभन्दा बढी लगानी

तिब्बतको कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकको प्रमुख ‘ट्रान्जिट’ पनि नेपालगन्ज नै हो ।

पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगन्ज होटल हबका रूपमा अघि बढ्दै गएको छ । नेपालगन्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटलमा लगानी बढेको हो ।

होटल व्यवसायीका अनुसार बाँकेको नेपालगन्ज र कोहलपुरका होटल व्यवसायमा रु १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ ।

जिल्लामा पछिल्लो समय ठूलो लगानीमा तारे होटल खोल्ने क्रम पनि बढेको छ । बाँकेमा हालसम्म दुई वटा पाँच तारे होटल खुलिसकेका छन् भने दुई वटा चारतारे होटल छन् । बाँकी तीन तारे र अन्य सुविधा सम्पन्न पर्यटक स्तरीय होटल छन् ।

होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभरि साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा छन् । जसमा पाँच हजार कोठा छन् भने एकैपटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता रहेको होटल व्यवसायी सङ्घले जनाएको छ ।

होटलको सङ्ख्या बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेको सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए । आफूहरूले पनि दुई हजार जना क्षमताको ब्याङ्केट हल बनाइसकेको उनले बताए ।

नेपालगन्ज र कोहलपुर बजारका दृश्यावलोकन गर्न मिल्ने गरी होटलको आठ तलामा ‘रुफटप रेस्टुराँ’ सञ्चालन गरिरहेको उनको भनाइ छ । तिब्बतको कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकको प्रमुख ‘ट्रान्जिट’ पनि नेपालगन्ज नै हो ।

यसले पछिल्लो समय भारतीय पर्यटकलाई नेपालगन्ज हुँदै मानसरोवर जान सजिलो हुने भएपछि पर्यटक स्तरीय होटल खुल्ने क्रम बढेको छ भने नेपालगन्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेका छन् ।

पर्यटनको सम्भावना

बाँकेमा पर्यटन व्यवसायको ठूलो सम्भावना छ । यहाँका पर्यटकीय स्थलहरूको उचित संरक्षण सम्वर्द्धन हुन सकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न ताल तलैया, वाटरपार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृती, जैविक पार्क लगायत पर्यटक बहलाउने थुप्रै मनमोहक दृश्यहरू छन् ।

जसलाई संरक्षण र सम्वर्द्धन गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने जिल्लाको समृद्धिको आधार तय गर्न पर्यटन क्षेत्रले टेवा दिने देखिन्छ । जिल्लामा धार्मिक पर्यटनको समेत ठूलो सम्भावना रहेको छ ।

यहाँ बागेश्वरी मन्दिर, जुगेश्वर महादेवको मन्दिर, सङ्कटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, बौद्ध गुम्बाजस्ता विभिन्न धर्म संस्कृतिका आस्थाका केन्द्रहरू रहेको बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए ।

त्यस्तै अन्य पर्यटकीय स्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ विहार, वाटरपार्क आदि पर्यटकका लागि गन्तव्यस्थल हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछन् ।

पछिल्लो समय पर्यटक आकर्षित गर्न यहाँ निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल बैश्यको भनाइ छ । पर्यटक आकर्षित गर्न यहाँका विभिन्न स्थानमा रु डेढ अर्ब लगानीमा तीन वटा वाटरपार्क सञ्चालनमा छन् ।

नेपालगन्ज–१८ स्थित राँझा विमानस्थल नजिकै ‘वन्डरल्याण्ड वाटर पार्क’ निर्माण भएको छ भने अर्को कोहलपुरको हवल्दारपुरमा मानसरोवर होलिडेइनमार्फत् वाटरपार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ । व्यवसायीहरू नेपालगन्जमा पर्यटकको बसाइँ लम्ब्याउन पर्यटकीय स्थलमा लगानी बढाउन जरुरी भएको बताउँछन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतवार १८:१३