सूचनाको शक्ति - The Power Of Information

        

नक्कली नोट कारोबारी एमाले नेता पक्राउ, छुटाउन प्रहरीलाई दबाब

नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव तारानिधि (रमेश) पन्त १० लाख रुपैैयाँ नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका छन् । उनलाई छुटाउन एमाले नेताहरुले प्रहरीलाई दबाब दिन थालेका छन् ।

सर्लाहीको नेपाल–भारत सीमामै नक्कली नोट कारोबारको डिल गरिरहेकै अवस्थामा गत ४ माघमा १० लाखसहित उनलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले नक्कली नोट कारोबारको आशंकामा पन्तलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

पहिलेदेखि नै अपराधिक क्रियाकलापमा संलग्न पन्तलाई ओलीले पार्टीमा अविरजात्रा गरी प्रवेश गराएर जिफन्टको सचिवको महत्वपूर्ण जिम्मेवारी दिएका थिए । नेकपा माओवादी २०६२–०६३ मा शान्ति प्रक्रियामा आएपछि क्यासिनोहरुबाट असुली गरी अकूत सम्पत्ति आर्जन गरेका विवादित पात्र हुन् रमेश पन्त ।

डा.बाबुराम भट्टराईको निकट भन्दै उनी धेरै संदीग्ध गतिबिधिमा संलग्न भएपछि अखिल नेपाल ट्रेड युनियन महासंघले उनलाई कारबाही गरेको थियो । महासंघले कारबाही गरेपछि पन्तले महासंघका तत्कालीन अध्यक्ष शालिग्राम जम्कट्टेल (हाल बागमती प्रदेशका मुख्यमन्त्री) माथि नै २०६८ भदौ १० गते साँझ बबरमहलमा खुकुरी प्रहार गरेका थिए ।

पहिलेदेखि नै अपराधिक क्रियाकलापमा संलग्न पन्तले एमाले नेता महेश बस्नेतमात्र होइन, अध्यक्ष केपी शर्मा ओली र बिष्णु रिमालसँग सम्बन्ध भएको देखाउन सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्ने गरेका थिए । नक्कली नोट कारोबारमा पक्राउ परेपछि पन्तको फेसबुक डिएक्टिभ देखिएको छ ।

रमेश भन्ने तारानिधि पन्त, इन्द्रबहादुर शाही ठकुरी, प्रभात भन्ने राम पुडासैनी, कमलबहादुर बुढाथोकी र नवीन भन्ने सुदिप कार्कीले जम्कट्टेलमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेकोमा विपक्षी नेपाल सरकारले २०६९ साउन २ मा मुद्दा फिर्ता लिन निर्णय गरेको थियो ।

आफ्नै नेतामाथि नै खुकुरी प्रहार गर्ने अपराधिक क्रियाकलापमा उत्रिएपछि माओवादीले पन्तलाई कारबाही गरेको थियो । माओवादीले कारबाही गरिसकेपछि रमेश पन्त २०७० एमालेमा प्रवेश गरेका उनलाई जिफन्टमा सचिवको जिम्मेवारी दिएको थियो । जिफन्टको १० बर्षभन्दा बढी नेतृत्व एमालेका उपमहासचिव बिष्णु रिमालले गरेका थिए । नक्कली नोट कारोबार जस्तो गम्भीर मुद्दामा पन्तलाई छुटाउन प्रहरीमाथि दबाब दिइएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतवार १७:०१