सूचनाको शक्ति - The Power Of Information

        

दादुराको प्रकोप

नरैनापुरका ९ हजार ९१३ बालबालिकालाई दादुराविरुद्धको खोप

फाइल तस्वीर

बाँकेको नरैनापुर गाउँपालिकाका ९ हजार ९१३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ । गाउँपालिकाको दादुरा प्रभावित क्षेत्रका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको हो ।

नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्षमुनिका १४ हजार २२ जना बालबालिकामध्ये ७०.६९६ प्रतिशत अर्थात् ९ हजार ९१३ जना बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका छन् ।

नरैनापुर स्वास्थ्य शाखाका सर्भिलेन्स अफिसर विवेक पौडलेका अनुसार नरैनापुरका ७ वटा वडामा खोप अभियान सञ्चालन भइरहेको बताए । उनले गाउँपालिकाको दादुरा प्रभावित क्षेत्रमा सोमबारसम्म लक्ष्य अनुसार खोप लगाइसक्ने जानकारी दिए ।

सरकारले दादुरा नियन्त्रण गर्ने उद्देश्यले माघ ५ गतेबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । नरैनापुरमा दादुरा सङ्क्रमित २१ जना बालबालिकामध्ये १६ जना होम आइसोलेसनमा उपचाररत छन् भने ५ जना निको भइसकेका छन् ।

नरैनापुर गाउँपालिकाभित्रका ६ वटै वडामा रहेका ११ खोप केन्द्रमार्फत दादुरा–रुवेलाविरुद्धको खोप अभियान तीव्ररुपमा सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिएका छन् ।

यता नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले खोप सञ्चालनमा कुनै कमी हुन नदिन कर्मचारीहरुलाई निर्देशन दिँदै नियमितरुपमा खोप केन्द्रको अनुगमन र स्थानीय नागरिकहरुलाई खोप लगाउन आग्रह गर्दै आएका छन् ।

यस्तै खोप अभियानको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठ, डब्लु एचओका सर्भिलेन्स मेडिकल अफिसर डाक्टर तृप्तिपाल रमन लगायतले शनिबार खोपको अनुगमन गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतवार १६:५०