लुम्बिनी प्रदेशको अन्य समूहका लागि राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ मा हुने भएको छ ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनको कार्यालय शुक्रबार लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा स्थापना गरिएको छ । निर्वाचन कार्यालय स्थापनासँगै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
निर्वाचन कार्यालयका अनुसार माघ ८ मा बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
माघ ८ मा नै ११ देखि ४ बजेसम्म नामावलीको दाबीविरोधमा उजुरी दिने, नामावली छुट भए समावेश गर्न र गल्ती भए सच्याउन निवेदन दिने समय तोकिएको छ ।
माघ ९ मा १० बजेदेखि १० गते ३ बजेसम्म उजुरीमाथि छानबिन र कारबाही गरी ४ बजेभित्र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ । माघ ११ मा १० देखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता र ३ देखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।
माघ १२ मा १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने र माघ १३ मा १० बजेदेखि १४ गते ३ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी ४ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
माघ १५ मा १० देखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, माघ १६ मा १० देखि १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १२ देखि ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
माघ २५ मा १० देखि ३ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजिनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।
रूपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रियसभा सदस्य छोडेका थिए । उनले रूपन्देही–५ बाट उम्मेदवारी दर्ता गरेका थिए तर उनीभन्दा पहिला एमालेबाटै तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख वासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएका कारण भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।
सत्यपाटी संवाददाता । बाँके