सूचनाको शक्ति - The Power Of Information

        

सरकारी बेवास्ता

जीर्ण बन्दै जयेन्दु बाल सुधार गृह, ‘समस्यामा बालबालिका’

कतिपय बालक सजाय समाप्त भए पनि अभिभावक सम्पर्कमा नआउँदा सुधार गृहमै बसिरहेका छन् ।

बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको बाल सुधार गृह जीर्ण हुँदा बालबालिकालाई समस्या भएको छ । पाँच बर्षदेखि सञ्चालनमा रहेको जयेन्दु बाल सुधार गृह जीर्ण बन्दै गएको छ ।

बाल सुधार गृहमा हाल २२७ जना बालकहरु रहेका छन् । बालबालिकाका लागि अनाथालय वा ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम सञ्चालनका लागि डेढ दशकअघि निर्माण गरिएको जस्तापाताले छाएको भवनमा हाल विभिन्न अदालतबाट सजाय पाएका ७७ जना बालक बस्दै आएका छन् ।

‘भवन जीर्ण तथा बर्षातमा पानी चुहिन्छ,’ बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले भनिन् । विगतमा भन्दा अहिले बस्नलाई सहज भए पनि पुरानो भवन जीर्ण र अपायक भवन भएकाले समस्या हुने गरेको छ । विगतमा ७० जना बालक सुत्न मिल्ने भवनमा १८० जना बालक थिए ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले नयाँ भवन निर्माण गरेपछि भने विगतको अवस्थामा सुधार भएको छ । बाल सुधार गृहमा रहेका बालकमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका १११ जना रहेका छन् ।

सुधारगृहमा रहेका बालकमध्ये आधा बालकहरु जबरजस्ती करणीमा अदालतबाट सजाय पाएका वा पुर्पक्षका लागि थुनामा परेका बालकहरु रहेको इन्चार्ज काउचा मगरले बताइन् । सुधार गृहमा कर्तव्य ज्यानका २६, चोरीका १९, लागुऔषधका १५ डाँका चोरीका ९ जना बालक छन् ।

बाल सुधार गृह सञ्चालनमा आएको पाँच वर्षको अवधिमा ब्यवस्थापनमा सुधार भए पनि सुरक्षा ब्यवस्थापनमा भने बारम्बार त्रुटि हुने गरेको छ । यहाँबाट पटक–पटक बालकहरु सुरक्षाकर्मीलाई छक्याउँदै भाग्नेगरेका छन् ।

केही दिनअघि चार जना बालक भागेकोमा प्यूठानबाट समातिएका थिए । उनीहरु हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । प्रहरी नायब निरीक्षकको कमाण्डमा १४ जना सुरक्षाकर्मी तैनाथ भए पनि पर्खाल होचो भएका कारण भाग्न सहज देखिएको छ ।

कतिपय बालक सजाय समाप्त भए पनि अभिभावक सम्पर्कमा नआएका कारण सुधार गृहमै बसिरहेको इन्चार्ज काउचा मगरले बताइन् । सुधार गृहभित्र आधारभूत विद्यालय सञ्चालनमा छ । विभिन्न कानुनी अड्चन देखाउँदै डुडुवा गाउँपालिकाले हालसम्म अनुमति प्रदान गरेको छैन । सुधारगृहमा रहेका बालकहरुमध्ये एक जना स्नातक अध्ययनरत छन् ।

करिब डेढ दशकअघि दाता जयकेश सिंहले बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा चार विघा दुई कठ्ठा जग्गा उपलब्ध गराए । त्यसपछि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बालवालिका र ज्येष्ठ नागरिकको संरक्षणका लागि भवन निर्माण गरेको थियो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १७:३४