सूचनाको शक्ति - The Power Of Information

        

कालोबजारीमा सरकारी सक्रियता

राहदानीमा ‘लुटको व्यापार’, बिचौलियालाई मस्ती, सेवाग्राहीलाई सास्ती

कालोबजारी तथा अपराध ऐन अनुसार २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाइएको पाएमा कारवाही गर्ने व्यवस्था छ । यहाँ भने सरकार आफैँले ‘लुटको व्यापार’ गरिरहेको छ ।

नेपाली राहदानी विश्वको सबैभन्दा कमजोरमा पर्छ । तर, त्यही राहदानी लिनको लागि नेपालीले अत्यावश्यकको अवस्थामा १२ हजार र आफ्नै गृहजिल्लाबाट बनाएको खण्डमा ५ हजार रूपैयाँ पर्छ । आफ्नै जिल्लाबाट बनाए एक महिनामै बन्छ । अन्य देशभन्दा नेपालमा राहदानीको मूल्य दोब्बरले बढी छ ।

राहदानीबारे अध्ययन गर्ने बेलायती एजेन्सी हेल्दी नेपाल पार्टनरका अनुसार सन् २०२२ को सूचीमा नेपालको राहदानीको स्थान १०५ नम्बरमा सूचिकृत छ । नेपाली राहदानी वाहकले अग्रिम भिसा नलिकन जम्मा २५ वटा देशमा मात्र जान पाइन्छ । नेपालले राहदानी विदेशी कम्पनीबाट किन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार एकप्रति राहदानी बनाउनको लागि ५ रूपैयाँ अमेरिकी डलर अर्थात् नेपाली ६६० पर्न जान्छ । कालोबजारी तथा अपराध ऐन अनुसार २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाइएको पाएमा कारवाही गर्ने व्यवस्था छ । यहाँ भने सरकार आफैँले ‘लुटको व्यापार’ गरिरहेको छ ।

सरकारी ऐनलाई सरकार आफैँले धज्जी उडाइरहेको छ । सरकारले २०७८ साल मङ्सिर ८ गतेदेखि ई–पासपोर्ट लागू गरेको हो । त्यही बेलादेखि राहदानी विभागमा भीड लाग्न थालेको छ । भीडको प्रत्यक्ष फाइदा बिचौलियाहरूले उठाउने गरेका छन् । झन्झटिलो सरकारी प्रक्रियाबाट मुक्ति पाउन सेवाग्राहीले बिचौलिया रोज्ने गरेका छन् ।

ई–पासपोर्टको सम्पूर्ण जिम्मेवारी फ्रान्सेली कम्पनी आइडिमीयाले पाएको छ । सरकारले नेपालमै रोजगारी सृजना गर्ने बताए पनि नेपाली युवा १८ वर्ष पुगेपछि राहदानी बनाएर विदेश जान बाध्य छन् । रेमिटेन्सले चलेको नेपाललाई युवा विदेश जाँदा तत्कालका लागि फाइदा नै भएको छ । दैनिकजसो १५ सयभन्दा बढी युवाले वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि राहदानी बनाउने गरेका छन् ।

राहदानी लिन सजिलो छैन । रातिदेखि नै लाइन बस्नुपर्ने, समयमै राहदानी नपाइने, राहदानीको फारमकै लागि ३ हजारदेखि १५ हजारसम्म शुल्क तिर्नपर्ने बाध्यता छ । अत्यावश्यक राहदानीको लागि विकट जिल्लादेखि युवा राहदानी विभाग काठमाडौं आउँछन् । तर, राहदानी विभागमा भने बिचौलियाहरू छ्यापछ्याप्ती छन् ।

बिचौलियाहरूले छिटो र सजिलो तरिकाले राहदानी बनाइदिने लोभलालच देखाई सेवाग्राहीहरूलाई ‘लुट्ने’ गरेका छन् । पछिल्लो समय राहदानी बनाउनको लागि जनताले यस्ता समस्याहरू भोग्दै आएका छन् । सुन्दा अचम्म लाग्न सक्छ, राहदानी विभागले २५० मा फारम उपलब्ध गराएको टोकनका लागि मात्रै बिचौलियाहरूले ३ देखि १५ हजारसम्म लिने गरेका छन् ।

काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागका छेउछामा बिचौलियाहरूले सेवाग्राहीसँग पैसा असुलिरहेका हुन्छन् । सरकारले पछिल्लो समय केही समयको लागि मात्र फारम भर्ने समय दिएको छ । उक्त फारमको लागि धेरै मुस्किल हुने भएकाले विभिन्न फारम भर्ने साइबर र बिचौलियाहरूले सेवाग्राहीलाई ठग्दै आएका छन् ।

कतिसम्म भने सरकारले २५० मा उपलब्ध गराएको फारम विचौलियाले व्यक्ति हेरी शुल्क लिन्छन् । लामो समयसम्म फारम भर्नकै लागि लाइन बसे पनि पछिल्लो समय ५ हजारै शुल्क तिरेर पनि फारम पाउने सम्भावना न्यून छ । केहि समयअघि यो पंक्तिकार आफैँ राहदानीको फारम भर्न गएको थियो । २ घण्टासम्म कुर्दा पनि फारम भर्न पाइएन । साइबरमा फारमबारे सोध्दा सबै प्याक छ भन्दै फारम दिएनन् ।

हजारौँ सेवाग्राही यस्तो दुःख व्यहोर्न बाध्य भएका छन् । फारम भर्नका लागि त्यहाँ फारमको किनबेच हुन्छ । जसले धेरै पैसा दिन्छ, उसैलाई बिचौलियाहरूले फारम भरिदिन्छन् । बिचौलियाहरूले गर्दा धेरै सेवाग्राही ठगीमा परेका छन् । विकट जिल्लाबाट आएका सामान्य परिवारका मानिस ऋण काढेर राहदानी बनाउन आएका हुन्छन् । तर, उनीहरूलाई नै बिचौलियाहरूले ठगिरहेका हुन्छन् ।

यस विषयमा राहदानी विभागको ध्यान गएको छैन । जनताको पक्षका काम गर्ने भाषण गर्ने नेताहरूको पनि यसतर्फ चासो देखिदैन । विभागले नै विचौलियालाई अनुकुल हुने गरी नियम बनाइदिएको छ । दैनिक अनलाइन फर्म भर्ने समय कम र दैनिक २ हजारदेखि २४ सयसम्म पासपोर्टको कोटा निर्धारण गरी वितरण गर्दा विचौलिया मालामाल भएका छन् । उक्त समयसम्ममा फारमको डेट लिनुपर्ने हुन्छ ।

धेरै मानिसले डेट लिनको लागि कुरेर बसेका हुन्छन् जसले गर्दा एकैपटक धेरैले वेवसाइट चलाउँदा साइटमा धेरै समस्या आउने गरेको छ । त्यसकारण सामान्य मानिसले फारम लिन सक्ने अवस्था नै छैन । राहदानी बनाउन आएका एक सेवाग्राहीले भने, ‘म राहदानीको फारम भर्नको लागि धाएको दुई दिन भयो । आज बल्ल ७ हजार रूपैयाँमा फारमको समय लिएको छु । मलाई ९ हजार भन्दै थियो । मैले दिन नसक्ने भनेपछि ७ हजारमा फारम भरिदियो ।’

१९ वर्षीय ती युवाले आफू ऋण काढेर राहदानी बनाउन आएको र फारम भर्नलाई नै ७ हजार लाग्दा बाँकी राहदानी बनाउन आर्थिक समस्या परेको गुनासो गरे । उनले भने, ‘राहदानी बनाउन ऋण मागेर आएको हो । म अब कसरी बनाउनु राहदानी ? राहदानी बनाउन पनि मामाले विदेशबाट पैसा लगाइदिनुभयो । अब फेरि कसरी माग्नु ?’ यस्ता समस्या यी युवाले मात्र होइन दैनिक हजारौँ सेवाग्राहीले भोग्दै आएका छन् ।

राहदानी विभाग पुग्दा जो कोही बिचौलियाको फन्दामा पर्ने गरेका छन् । प्रहरीले केही बिचौलियालाई पक्राउ पनि गरेको छ । प्रहरीले नियन्त्रणमा लिएका तिनीहरू पहिलो पटक पक्राउ परेका होइनन् । यसअघि पनि बिचौलिया भएकै आरोपमा पक्राउ पर्दै छुटेका व्यक्तिहरू हुन् । राहदानी विभाग भने यस्ता बिचौलियाहरूलाई बेला बेलामा नियन्त्रणमा लिने गरेको बताउँदै अवस्था नियन्त्रण बाहिर गएको स्वीकार्छ । विभागका अनुसार अहिलेसम्म करिब ५०० बिचौलियालाई कारबाही भइसकेको छ ।

राहदानी विभागले दिनमा एक घण्टाको लागि अनलाइन आवेदन खुला गर्दा १० मिनेटकै अवधिमा कोटा पुग्ने कारणले पनि सेवाग्राही मारमा पर्ने गरेका छन् । एक त समयमै पासपोर्ट नपाउँदा खेप्नुपर्ने हैरानी अनि बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएपछि नागरिकता र अन्य कागजात समेत प्रहरीले लिने गरेपछी सेवाग्राही थप मारमा पर्ने गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेलगत्तै मन्त्रिपरिषदको पहिलो बैठकमै यस विषयलाई पहिलो प्राथमिकता पाएको थियो ।

प्रचण्ड नेतृत्वको सरकार गठन भएलगत्तै फारमभन्दा पनि फोटो, इ–हस्ताक्षर र हातको बायोमेट्रिक्स कामहरूमा सुधार आएको देखिन्छ । रवि लामिछाने गृहमन्त्री बनेलगत्तै राहदानी विभागको निरीक्षणसमेत गरे । राहदानी बनाउनका लागि जनताले भोगेका समस्यालाई मध्यनजर गर्दै गृहमन्त्री लामिछानेले जनताले भोग्दै आएका सास्ती अन्त्य गर्ने उधारो आश्वासन पनि दिएका थिए । तर, सहज रूपमा सेवा नपाउँदा यस्ता उधारो आश्वासनले जनता वाक्क भइसकेका छन् । राहदानीको समस्या जस्ताको त्यस्तै छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ०८:०८