सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका हिमाली जिल्लामा औषधिको अभाव

कर्णाली प्रदेशका हिमाली जिल्लामा औषधि अभाव भएको छ । पालिकाअन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा औषधि नहुँदा बिरामी मर्कामा परेका हुन् ।

सरकारी स्वास्थ्य संस्थामा ७२ प्रकारका औषधि निःशुल्क पाइने भनिए पनि धेरैजसो औषधिको अभाव छ । स्वास्थ्य संस्थामा पालिकाबाट खरिद गरी वितरण गर्ने औषधि अहिलेसम्म खरिद भएको छैन ।

मुगुको खत्याड गाउँपालिकाअन्र्तगत गुम्था हेल्थ पोस्टका इन्चार्ज मानबहादुर रोकाय गाउँपालिकाले समयमा औषधि खरिद नगर्ने र गाउँपालिकाको स्टोरमा भएको औषधि स्वास्थ्य संस्थामा समयमै नआउने समस्या रहेको बताउनुहुन्छ ।

जाजरकोटका स्वास्थ्य संस्थामा पनि बिरामीले औषधि नपाएको गुनासो गरेका छन् । छेडागाड नगरपालिका नगर अस्पतालमा कार्यरत अहेब रामप्रसाद शर्माले औषधि खरिद प्रणालीबाट हुने भन्दै पालिकामा बजेट अभावले गर्दा पनि औषधि खरिद हुन नसकेको बताउनुभयो ।

कर्णालीका विभिन्न स्वास्थ्य संस्थामा पारासिटामोल, एन्टिबाइटिक्स, जीवनजललगायत सरकारले निःशुल्क दिने औषधिको अभाव छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले भने औषधिको अभाव नरहेको दाबी गरेको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले केही जिल्लामा औषधि अभाव भएको भन्ने सूचना आएकाले औषधि पठाउने काम भइरहेको जानकारी दिनुभयो ।

‘जाजरकोटलगायत जिल्लामा औषधि अभाव भन्ने सूचना आएको छ । हामीसँग औषधि अभाव छैन’, उहाँले भन्नुभयो, ‘औषधि अभाव भए/नभएको बारेमा हामीले रिपोर्टिङ गरिरहेका छौँ, ती ठाउँमा औषधि पठाउने प्रबन्ध मिलाउँछौँ ।’

स्रोत : रासस
प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार ०८:१७