पूर्ण खोप जिल्ला घोषणा भइसकेको बाँकेका चारवटा पालिकामा दादुरा संक्रमण देखा परेको छ ।
‘कागजी तथ्यांक’लाई आधार मान्दै गरिएको पूर्ण खोप जिल्ला घोषणालाई जिल्लाभरि नै फैलिँदै गएको दादुरा संक्रमणले गिज्याएको छ । नेपालगन्ज उपमहानगरपालिकामा फैलिएको दादुरा संक्रमण कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, जिल्लाका चारवटा पालिकाका २ सय ९ जनामा दादुरा संक्रमण देखा परेको छ । त्यसमध्येमा १ सय ५० जना निको भएका छन् भने ५८ जना उपचारमा छन् । एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको सबैजसो वडामा दादुरा संक्रमण देखिएको छ । उपमहानगरपालिकाले स्वास्थ्य कार्यालयसँग मिलेर १६ वटा वडाको ३६ वटा खोप केन्द्रमा खोप अभियान चलाइरहेको छ ।
नेपालगञ्जमा मात्रै १ सय ९१ जना बिरामी देखा परिसकेको छ । त्यसमा १ सय ४७ जना सन्चो भएका छन् । नगरमा ३१ हजार ४२ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ ।
नेपालगञ्जमा फैलिएको संक्रमणलाई रोक्न नपाउँदै जिल्लाका अन्य पालिकामा संक्रमण देखा परेको छ । खजुरा गाउँपालिकामा ३ जनामा संक्रमण देखा परेको छ । खजुराका आठवटै वडामा खोप अभियान सञ्चालन गरिएको छ ।
त्यसमा २० वटा खोप केन्द्र छन् । खजुरामा दादुराविरुद्धको खोप लगाउने १८ हजार ४ सय ५९ जना लक्षित बालबालिका रहेका छन् । दादुरा संक्रमण फैलिएपछि ६ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप लगाइएको छ । मासिक सञ्चालन हुने अभियानमा १५ महिनाभित्रका बालबालिकालाई खोप लगाइन्छ ।
कोहलपुर नगरपालिकामा २ जना र नरैनापुर गाउँपालिकामा १ जनामा दादुरा संक्रमण देखा परेको छ । यी पालिकामा पनि दादुराविरुद्धको खोप अभियानको तयारी भएको छ ।
बाँकेमा आठवटा पालिका छन् । त्यसमध्ये चारवटामा दादुरा देखा परिसकेको छ । नियमित रूपमा सञ्चालन हुने दादुरा खोप नलगाएका बालबालिकामा संक्रमण देखिएको छ ।
सरकारी तथा गैरसरकारी संस्थाको रिपोर्टमा बाँकेमा खोप नलगाएका व्यक्ति कमै रहेका छन् । त्यही निकायले अहिले फैलिएको संक्रमणलाई खोप नलगाएको व्यक्तिमा देखिएको बताइरहेका छन् ।
सरकारले सन् २०२३ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य लिएको छ । दश हजार बच्चामा एक जनाभन्दा कममा दादुरा देखिएमा निवारण भएको मानिन्छ । सरकारको यो लक्ष्यलाई अन्तिममा आएर नेपालगञ्ज हुँदै बाँकेबाट चुनौती थपिएको छ ।
सत्यपाटी संवाददाता । बाँके