सूचनाको शक्ति - The Power Of Information

        

जन्म गाउँ रुपामा पाइलट केसीको सालिक निर्माण गरिने

 पोखराको सेती खोँचमा आइतबार बिहान जहाज दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधनप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।

कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मङ्गलबार केसीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गर्नुभएको हो ।

रुपा गाउँपालिका–३ स्थायी निवासी बुबा वीरेन्द्र केसी र आमा मीना केसीका ज्येष्ठ सुपुत्र ५९ वर्षीय क्याप्टेन कमल केसीको निधनले गाउँ नै शोकमा डुबेको अध्यक्ष ओझाले बताउनुभयो ।

अमेरिकाबाट पाइलट विषयमा अध्ययन गरी विसं २०४६ मा नेपाल वायुसेवाबाट करियर सुरु गरी भारतको बैङ्गलोरमा रहेकाे इन्डियन एअरलाइन्स र पछिल्लो समय यती एअरलायन्समा आबद्ध क्याप्टेन केसीको निधनले रुपा गाउँपालिकालाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।

केसीलाई रुपा गाउँपालिकाको चौथो स्थापना दिवसको अवसरमा रुपा रत्न सम्मान २०७८ बाट समेत सम्मान गरिएको जानकारी अध्यक्ष ओझाले दिनुभयो । गाउँपालिकाको बैठकले हिजाे साँझ रुपा गाउँपालिकाका सबै वडा कार्यालयमा ७२ वटा दीप प्रज्वलन गरी राष्ट्रिय झण्डा तीन दिनसम्म झुकाउने  निर्णय गरेको छ ।

साथै बैठकले केसीको नाममा अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाजमा दुर्घटना भएका ७२ जनाको नाम लेखिने निर्णय गरेको छ ।

साथै बैठकले पाइलट केसीका बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गराउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ०८:०४