सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

सबै दलले टुंग्याए १३ मन्त्रीको नाम (नामावलीसहित)

सत्तारुढ दलहरूको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम फाइनल गरेका छन् । मंगलबार एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम फाइनल गरेका हुन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने टुंगो लागेको छ । एमालेबाट यसअघि उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएका छन् ।

त्यस्तै राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारी मन्त्री भए पनि मन्त्रालय पाएका छैनन् । त्यस्तै नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन पाएको छ ।

नारायणकाजी श्रेष्ठ भने यसअघि नै भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भइसकेका छन् । त्यस्तै माओवादीले सञ्चारमन्त्री रेखा शर्मा बनाउने भएको छ । सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भएको छ ।

त्यस्तै अमनलाल मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाउने भएको एक नेताले जानकारी दिए । राज्यमन्त्रीमा भने कसलाई पठाउने भन्ने टुंगो लगाउन बाँकी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरूको नाम टुंग्याएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको हो । रास्वपाबाट उपप्रधानसहित गृहमन्त्री रवि लामिछाने यसअघि नै भइसकेका छन् । अब रास्वपाले पाएको दुई मन्त्रालयमध्ये श्रममन्त्रीमा डोलप्रसाद अर्याल र शिक्षा मन्त्री शिशिर खनाल चयन भएका छन् ।

तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुने भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मन्त्रीहरूको नाम टुंगो लगाएको छ । उपप्रधानसहित ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्देन, कानुनमन्त्रीमा ध्रुबबहादुर प्रधान र सहरी विकासमा विक्रम पाण्डेको नाम टुंग्याएको हो ।

राप्रपाबाट सहरी विकास मन्त्री हुन् लागेका पाण्डे ठेक्कापट्टाको काम गर्छन् । सिक्टा सिचाइ परियोजनाको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्धा लगाएका पाण्डेलाई विशेष अदालतले सफाइ दिएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १३:१४