सूचनाको शक्ति - The Power Of Information

        

मन्त्री बनेको खबर सुनाएपछि किन रोए सुदन किराँतीका बुवा ?

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराती मन्त्री हुने भएका छन् । मंगलबार विस्तार हुन लागेको मन्त्रिपरिषदमा माओवादीले उनलाई पर्यटन मन्त्री बनाउने भएको छ । उनका बुवा हर्कबहादुर राई प्यारालाइसिसका कारण अहिले ओछ्यानमै छन् ।

बेलायती सैनिकमा भर्ती भएका हर्कबहादुरले फकल्यान्ड युद्ध पनि लडेका थिए । छोराको कुरा सुनेर बुवा हर्कबहादुर भावुक बने । भोजपुरका सुदन किराती माओवादी सशस्त्र युद्धमा भूमिगत भएका थिए । झन्डै एक वर्ष उनी जेल परेका थिए ।

पहिलो संविधान सभा, २०७४ र अहिले गरी उनी तेस्रो पटक सांसद बनेका छन् । पहिलो पटक नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्ने पक्का भएपछि युवा नेता किरातीले आफ्ना बुवासँगको कुराकानी सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता किरातीले मन्त्री बन्ने पक्का भएपछि ‘डाँडाको जुन घामजस्तै बुवासँग कुराकानी’ सार्वजनिक गरेका हुन् । उनले आफूले मन्त्री बनेको खबर बुवालाई सुनाउँदा सपना हो कि विपना हो ? भनेर सोधेको सुदनले उल्लेख गरेका छन् ।

‘हँ’ होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?’ उनका बुवाले सोधेका छन् । बुबाको प्रश्नसहित जवाफमा किँरातीले भनेका छन्, ‘हो बुवा साँच्चै हो बिपना नै हो ।’ बुवाले अहिलेसम्म वंशमा कोही वडाध्यक्षसम्म नभएको बताउँदै राम्रो गर्न आफूलाई सुझाव दिएको उनले बताएका छन् ।

सुदनले बुबासँग गरेको वार्तालाप जस्ताको त्यस्तै

डाँडाको जुन घाम जस्तै बुवा संग कुराकानी !
मैले भने ।
म – बुवा म मन्त्री हुने भएँछु ।
बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो ?
म – हो बुवा साँच्चै हो बिपना नै हो । (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन )
बुवा – मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?
म – पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्यो ।
बुवा – राम राम राम ! म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो……….।
बुवा – हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु ।
म – पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए…….।
बुवा – म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म……!
संम्झे !
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १२:५१