सूचनाको शक्ति - The Power Of Information

        

पालिकाका कर्मचारी : सधैं सदरमुकाममा, तलब बुझ्ने बेला कार्यालयमा टुप्लुक्क !

डोल्पाको सदरमुकाम दुनै भर्खरै सडक सञ्जालसँग जोडिएको छ । अब देशका जुनसुकै ठाउँबाट पनि डोल्पाको दुनैसम्म सिधा यात्रा गर्न सकिने भएको छ । भेरी नदीमा अस्थायी पुल निर्माणसँगै डोल्पाको दुनैसम्म गाडीमा जान सकिने भएपछि खुसी नहुने को होला ?

सधैँ दुर्गमको पगरी गुथिरहने डोल्पा अब सिधा यातायात सेवाले केही हदसम्म सहजताको अनुभूति सिर्जना भएको छ । सदरमुकाम दुनैबाट उपल्लो डोल्पाका तीन वटा पालिकामा जानका लागि अझै पनि पैदल वा घोडाको साहारा लिनुपर्ने बाध्यता रहँदै आएको छ ।

उपल्लो डोल्पामा काम गर्ने कर्मचारीहरू अधिकांश काम सदरमुकाम दुनैबाटै गरेर उपल्लो डोल्पाको तलब, भत्ता खाँदै आएका छन् । कर्मचारीहरु बर्षमा मुस्किलले हप्तादिन जतिमात्रै उपल्लो डोल्पामा बस्ने गरेको जनप्रतिनिधि नै गुनासो गर्दछन् ।

उपल्लो डोल्पा हप्ता दिन जाँदा वर्षभरि सामाजिक सञ्जालमा राखेर उपल्लो डोल्पामा काम गरेको फूर्ति लगाउने गरेको जनप्रतिनिधिको गुनासो छ । ‘जनताले दैनिक भएभरका कामहरू गर्नुपर्छ, कर्मचारी खोज्दा कोही पनि भेटिँदैनन्,’ यहाँका सबै सर्वसाधारणको गुनासो हो यो ।

फोन गर्दासमेत रिसिभ नगर्दा कर्मचारीहरूले अर्को दुःख दिने गरेको छार्काताङसुङ गाउँपालिका–३ का वानचिन गुरुङले बताए । उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल काठमाडौंमा हुनुहुन्छ रे, फोन गर्दा पनि उठाउनुहुन्न ।’

उनका अनुसार पालिकामा एकजना पनि कर्मचारी छैनन् । ‘पालिकामा कर्मचारी नहुँदा हाम्रो काम गरिदिने कसले हो ? सेवाग्राहीले कहाँबाट सेवा पाउने हो ? अन्य ठाउँमा संघीयता आए पनि हाम्रो पालिकामा संघीयता आएकै छैन,’ वानचिनले बताए ।

पालिकाभन्दा बाहिरै बसेर सधैँ तलब, भत्ता खाने आरोप लागिरहेका प्रमुख प्रशासकीय अधिकृत सेजुवाललाई तीन दिनमा झण्डै ५ पटक फोन गर्दासमेत रिसिभ भएन । पालिकाको काममा गएको भन्दै लामो समयदेखि सेजुवाल काठमाडौंमै बसेका छन् ।

पालिकाका अन्य कर्मचारीहरू समेत कार्यालयमा नआउँदा छार्काताङसुङ गाउँपालिकामा कोही कर्मचारी भेटिँदैनन् । दुर्गम भएको बाहानामा सहरमा बसेर डोल्पाको कर्मचारी भन्दै नाम भजाउँदा आफूहरू पीडित भएको छार्काताङसुङ–४ का पासवान रोकायले बताए ।

कहिलेकाहीँ मात्र पालिकामा पाइला टेक्ने कर्मचारीले अधिकांश समय दुनैबाटै काम गरिरहेको उनको आरोप छ । अहिले छार्काताङसुङ गाउँपालिकाभित्रका जनता गाउँमै भए पनि कर्मचारी चिसोको बहानामा दुनैबाट व्यक्तिगत काममा लागेको जनप्रतिनिधिहरू नै बताउँछन् ।

पालिकामा कोही पनि कर्मचारी किन नबसेको ? भन्दै हामीले त्यहाँका सूचना प्राविधिक अधिकृत किरण केसीलाई सम्पर्क गर्न खोज्दा उनको पनि फोन उठ्न सकेन । गाउँपालिकाका उपाध्यक्ष कर्म ढुण्डुप गुरुङले आफू काठमाडौं भएको बताए ।

छार्काताङसुङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले टेलिफोनमा भने, ‘तपाईंको मात्र होइन, मेरो पनि फोन उठाउँदैनन् । म आफैँ पनि पीडित हुँ । पालिकाको अधिकृत भएर जतिबेला पनि फोन उठाउनुपर्ने तर कर्मचारीले फोन नै नउठाउँदा कसरी काम गर्ने ?’

आफू काम परेको बेला जुनसुकै ठाउँमा पुग्ने गरेको अध्यक्ष गुरुङले बताए । ‘बजेट माग गर्न काठमाडौं आएको छु,’ उनले भने, ‘भेरी करिडोरले आफ्नो पालिका नभेटने भएकाले काममा लाग्नुपरेको छ, सबै मन्त्रीज्यूलाई भेटेर पालिकाको विकासलाई गति दिने योजना छ ।’

कर्मचारी टिकाउनकै लागि पनि चुपचाप लागेर काम गर्नुपरेको जनप्रतिनिधिको गुनासो छ । गाउँपालिकामा कर्मचारी नहुँदा अधिकांश कामहरू गर्न समस्या हुँदै आएको सेवाग्राहीहरु बताउँछन् । राज्यले खटाएको ठाउँमा इमानदारपूर्वक काम गर्नुको ठाउँमा अनेक बहाना बनाएर खटाएको ठाउँमा नजाँदा त्यसको प्रत्यक्ष मारमा सेवाग्राहीहरूलाई पर्ने गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १०:४३