सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री प्रचण्डले बोलाए आज सर्वदलीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सर्वदलीय बैठक आव्हान गरेका छन्।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिक समिकरण केही फेरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड पद तथा शक्ति बाँडफाँटमा कुनै न कुनै हिसाबले नेपाली कांग्रेसलाई पनि सहभागि गराउने प्रयासमा छन् । तर, नेकपा एमाले भने कांग्रेसको समर्थनप्रति झस्किएको छ ।

कांग्रेसले राष्ट्रपति र सभामुखमध्ये एक पद आफुले पाउनुपर्ने संकेत गरेको छ । एमाले भने माओवादीसँगको पूर्व सहमति अनुसार यी दुवै पद आफुले पाउनुपर्ने अडानमा छ ।

यसैबीच, सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको समते भागबण्डा टुंगो लगाएको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भएको छलफलपछि सबै पद बाँडफाँट मिलेको बताईएको छ ।

सहमतिअनुसार एमालेले राष्ट्रपति पद लिनेछ भने उपराष्ट्रपति माओवादीले पाएको छ । प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ । त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने सभामुख एमालेले पाउनेछ ।

५ माघमा हुने सभामुखको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुनेछ । एमाले उच्च स्रोतका अनुसार सभामुखमा झापा–२ बाट निर्वाचित देवराज घिमिरेको सम्भावना बढी छ ।

सत्ता गठबन्धनको भागबण्डामा उपसभामुख भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको छ । उपसभामुखको निर्वाचन ७ माघका लागि तय भएको छ । रास्वपामा उपसभामुखको दाबेदार सोभिता गौतम हुन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०८:४०