प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालयको भागवण्डामा मोटामोटी सहमति जुटेको छ । ओली र प्रचण्डबीच सोमबार भएको छलफलमा सरकारमा सहभागी हुने दलहरुको आधारमा मन्त्रालय संख्यासहित भागबण्डाको खाका तयार गरिएको हो ।
स्रोतका अनुसार लोसपा समेत सरकारमा सहभागी हुन चाहेपछि सत्ता साझेदार दलहरुले यसअघि पाउने भनिएका मन्त्रालय संख्या घटेको हो । एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच ५ घण्टा भएको छलफलमा दुई नेताबीच सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डा लगभग टुंगिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार सोही अनुसार आजै बस्ने संयन्त्रको बैठकमा मन्त्रालय संख्या र पाउने मन्त्रालयको समेत टुंगो लगाइने छ । ओलीनिकट एक एमाले नेताका अनुसार ओली प्रचण्डबीच ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागबण्डाको मोडालिटी तयार पारिएको हो । ‘पाटीका आठ सांसद बराबर एक मन्त्रालय पाउनेगरी कुराकानी भएको छ,’ स्रोतले भन्यो, ‘तर अन्तिम सहमति संयन्त्रको बैठकमा हुनेछ ।’
यो खाका अनुसारै अघि बढेमा एमालेले ८ वटा मन्त्रालय पाउनेछ । अहिले एमालेले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय पाइसकेको छ । अब उसले सात वटा मन्त्रालय पाउनेछ । एमालेले यसअघि १० वटा मन्त्रालयको दाबी गर्दै आएको थियो । यस्तै सरकारमा सहभागी दोस्रो ठुलो र सरकारको नेतृत्व गरेको माओवादीले ४ वटा मन्त्रालय पाउनेछ । माओवादीले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय लिइसकेको छ ।
अव उसले ३ वटा मन्त्रालय पाउनेछ । माओवादीले यसअघि ६ वटा मन्त्रालय दावी गर्दै आएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद २० जना भए पनि उसलाई ३ वटा मन्त्रालय दिने ओली र प्रचण्डबीच सहमति भएको छ । रास्वपाबाट अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । अव उसको भागमा २ मन्त्रालय पर्नेछन् । १४ सांसद रहेको राप्रपा र जसपाले दुई–दुई वटा मन्त्रालय पाउने छन् ।
त्यस्तै जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई एक–एक मन्त्रालय दिन दुई नेता सहमत भएका छन् । एमालेका एक पदाधिकारी भन्छन्, ‘आजको बालकोट वार्ता सकारात्मक र परिणामुखी भएको बुझिएको छ । अब अड्किएका कामहरु फटाफट हुन्छन् र यो गठबन्धन पाँचै बर्ष जान्छ भन्नेमा पनि शीर्ष नेता विश्वस्त देखिनुहुन्छ ।’
सत्यपाटी संवाददाता । काठमाडौं