‘वेदर इज ब्युटीफुल । भेरी गुड भिजिबिलिटी । रन वे क्लियर ।’ काठमाडौंबाट यति एयरलाइन्सको एटीआर ७२ जहाजका पाइलट एयर ट्राफिक कन्ट्रोलरसँगको संवादमा भन्दै थिए । केही बेरमै अवतरणका लागि उनीहरुले पोखराको नयाँ विमानस्थलका एटीसीसँग अनुमति मागिसकेका थिए ।
हो, यति एयरलाइन्सकै वरिष्ठ प्रशिक्षक पाइलट कमल केसीको नेतृत्वमा कलसाइन नाइन एन एएनसी एटीआरको यो जहाजले काठमाडौंबाट पोखराका लागि आइतवार बिहान उडान भरेको थियो । पोखराका लागि आइतवार तेस्रो उडान गरिरहेको यो जहाजमा वरिष्ठ पाइलट कमल केसीले को–पाइलट अञ्जु खतिवडालाई अन्तिम प्रशिक्षण दिएर पाइलट बनाउने योजनामा थिए ।
केसी र खतिवडासहित चालक दलका ४ र ६८ जना यात्रु लिएर यो जहाज आइतवार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो । वरिष्ठ पाइलट केसीले पाइलटका रुपमा करिअर थालेको ३४ वर्ष पुग्दा यती एयरलाइन्ससँग जोडिएको मात्रै १३ वर्ष भइसकेको थियो । त्यही भएर उनले भरेको उडानमा अहिलेसम्म कुनै समस्या झेल्नुपरेको कसैलाई थाहा छैन ।
निकै अनुभवी पाइलट, त्यसमाथि काठमाडौंदेखि पोखरासम्म नै खुलेको मौसम । आइतबार बिहान यही विमान दुईपटक पोखरा–काठमाडौं गरिसकेको थियो । तर, तेस्रो पटकको उडानमा पोखराको नयाँ विमानस्थलमा अवतरण प्रयास सफल भएन । काठमाडौंबाट पोखरा उडेको विमान गन्तव्यमा पुग्न डेढ किलोमिटर बाँकी रहँदै सेती खोंचमा खस्यो । उडान भरेको झण्डै आधा घण्टामा पोखरा विमानस्थल अवतरण गर्नुपर्ने थियो ।
बिहान १०ः५० सम्म टावरसँग सम्पर्कमा रहेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्न सकेको थिएन । एकैछिनमा खबरहरु सार्वजनिक भए पोखराको नयाँ विमानस्थलमा अवतरण नगरी विमान पुरानो विमानस्थलनजिकै सेती खोँचमा खस्यो । नेपाली आकाशमा एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो । र, त्यही घटनामा वरिष्ठ पाइलट कमल केसीसँगै सवार सबै यात्रुको निधन भयो ।
केसीसँग लामो सहकार्य गरेका ती पाइलटका अनुसार नेपाल एयरलाइन्सबाट करिअर थालेका उनले २५ हजारभन्दा धेरै घण्टा नेपाली आकाशमा उडान भरेका छन् । पाइलट करिअरमा पहिलो पटक उनले उडाएको विमान दुर्घटनामा परेको थियो । अनुभवी पाइलटले नेतृत्व गरेको जहाज राम्रो मौसम भएकै बेला दुर्घटनामा पर्यो । न कमल जोगिए न सवार अन्य यात्रु । लामो हवाई उडान अनुभव भएका ५५ वर्षीय कमलका श्रीमती र २ छोरा छन् ।
पाइलट यात्रा
केसीले अमेरिकाबाट पाइलट कोर्स सकेर सन् १९८९ मा नेपाल एयरलाइन्सको ट्वीनअट्टर विमानमा प्रशिक्षार्थी पाइलटबाट करिअर थालेका हुन् । सन् १९८८ मा पाइलट कोर्स पूरा गरेका उनी नेपाली हवाई क्षेत्रमा निकै अनुभवी पाइलट हुन् । पछिल्ला दिन पाइलटहरुलाई प्रशिक्षण दिँदै उडान भरिरहेका कमल आइतबार (१ माघ) यती एयरलाइन्सको काठमाडौंबाट पोखरा पुग्न नपाई अस्ताएका छन् ।
को–पाइलट अञ्जु खतिवडालाई पाइलट प्रमाणपत्र दिलाउने अन्तिम फ्लाइट भरिरहेका थिए उनी । ‘उहाँ एक्जामिनर पाइलट हुनुहुन्थ्यो,’ २५ वर्ष सँगै काम गरेका एक पाइलट भने, ‘३४ वर्षभन्दा बढी उहाँले नेपाली आकाशमा सबैभन्दा ‘सेफ’ उडान गर्नुभएको थियो । उहाँ पाइलटमा सबैभन्दा सुरक्षित उडान गर्न सफल हुनहुन्थ्यो, तर, आज फर्ष्ट र लास्ट भयो, उहाँ हामीबीच रहनुभएन । उहाँ हँसिलो, मिजासिलो र रिस्क नलिने स्वभाव थियो ।’
ट्रेनी पाइलट ?
पाइलट कमल केसीप्रति विमान परिचारिका पनि विश्वस्त हुन्थे । लामो अनुभवमात्रै होइन, कयौँ वर्ष उडान भरेका कारण उनीसँग धेरैले पाइलट हुनुअघिको अन्तिम कोर्ष पूरा गर्थे । पोखरा फिल्डमा पाइलट कोर्ष पूरा गर्दा राइट सिटमा बसेर लेफ्ट सिटमा को–पाइलटलाई राख्ने गरिन्छ । अन्य सबै विमानस्थलमा उडान सम्पन्न भएर सफल भएपछि पोखरा उडान भर्ने गरिएको थियो । आइतबार पनि को–पाइलट अञ्जु खतिवडालाई पाइलट बनाउने अन्तिम उडान थियो ।
त्यही भएर काठमाडौंबाट पोखरा उडान हुँदै गर्दा कमल केसी राइट सिटमा बसे र लेफ्टमा को–पाइलटलाई राखे । ‘क्याप्टेनले ट्रेनी क्याप्टेनलाई लेफ्ट सिटमै राखेर अन्तिम कोर्ष गराउने हो, आज पोखरा गएको विमानमा पाइलट कमलले त्यही गर्नुभएको रहेछ,’ एक पाइलटले भने, ‘तर, ‘ब्याड लक’ ! यतीको एटीआर जहाज एयरपोर्ट नपुगी क्र्यास भयो ।’ ‘पोखराको रुटमा प्राय गरेर पोखरा शहर कट्नेबित्तिकै खोलापट्टी गएर ल्याण्ड हुन्छन्,’ ती पाइलटले विमान रुटबारे भने ।
‘तर, आजको विमानले भ्याली छिर्नेबित्तिकै सबै देब्रे पारेर अगाडि गएर पूर्व फर्किँदै आएको देखिन्छ, जुन टेक्निकल्ली किन भन्ने खालको छ,’ उनले भने । दुर्घटनाको कारण बुझ्न अब जहाजको ब्ल्याक बक्स नै हेर्नुपर्ने हुन्छ । एटीआर जहाजले २ घण्टाका सबै गतिविधि रेकर्ड गरेर राख्ने हुनाले दुर्घटनाको कारण पत्ता लाग्न कही समय लाग्न सक्छ । तर, कुनै प्राविधिक समस्याबारे एयरपोर्टका एटीसीसँग कुनै जानकारी नदिएकोले यतीको विमान किन र कसरी दुर्घटना भयो खुल्न बाँकी छ ।
रुपाबासीका गौरव थिए पाइलट कमल केसी
पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रुपा गाउँपालिका शोकमा डुबेको छ । केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन् । केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो ।
कमललाई विद्यालयमा प्राथमिक शिक्षा प्रदान गरेका उनका गुरु अग्रज पत्रकारसमेत रहेका बद्रीविनोद प्रतीकले आफूलाई कमलको दुःखद निधन सुन्नुपर्दा मर्माहत बनाएको बताए । कमलले हालको रुपा गाउँपालिका–१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गरेको प्रतीकले बताए । उनले भने, ‘कमल कक्षामा जहिले पनि प्रथम हुन्थे । सानैदेखि मेहनती र अनुशासित थिए । आफूले प्राथमिक शिक्षा प्रदान गरेको एकजना शिष्य र देशकै कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भएको छ,’ उनले भने ।
‘भेट्दाखेरि जहिले पनि सम्मान र आदर गर्थे । सञ्चो बिसन्चो सोधपुछ गर्ने गर्दथ्यौँ । उनले चलाएको जहाज दुर्घटनामा परेको सुनेदेखि नै दिनभरि कसैसँग बोल्न पनि सकिनँ,’ उनले भने । पाइलट बनेपछि समेत केसीसँग पटक–पटक भेटघाट हुने गरेको प्रतीकले सुनाए । उमेरले छ दशक पुगेका केसी अनुभवी पाइलटका रूपमा परिचित थिए । केसी रुपा गाउँपालिकाबाट पहिलो पाइलट बनेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
‘उहाँकै प्रेरणाबाट पछि रुपाबाट अरू पनि पाइलट बन्नुभएको छ,’ उनले भने, ‘केसीको निधन हाम्रा लागि अपूरणीय क्षति हो ।’ पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण गराएका केसीसँगसँगै यात्रा गरेका पोखरेली पर्यटन व्यवसायी एवं सञ्चारकर्मी यतिखेर झलझली सम्झिएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं