माघ ५ गते बस्ने प्रतिनिधिसभा बैठकको कार्यतालिका सभाुमखको चयन रहेको छ । संघीय संसद् सचिवालयले सभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
तालिकाअनुसार मंगलबार अर्थात् माघ ३ गतेलाई उमेदवारी दर्ताको समय छुट्याइएको छ । उमेदवारी दर्ता गर्न एकदिन मात्र समय बाँकी रहँदा सभामुख उमेदवार कुन पार्टीबाट को भन्ने टुंगो लागिसकेको छैन । सत्ता गठबन्धनबाट समेत सभामुखको उमेदवार कसलाई बनाउने भन्ने निर्णय भइसकेको छैन ।
एमालेको भागमा पर्ने सहमति भए सभामुखमा पार्टी नेता पृथ्वीसुव्वा गुरुङ उमेदवार रहने सम्भावना बढी रहेको सो पार्टी स्रोत बताउँछ । तर, गठबन्धनले गुरुङकै नामलाई भने फाइनल गरिसकेको छैन । तर, गठबन्धनबाट एक उमेदवार बन्ने निश्चित भएको बुझ्न सकिन्छ । किनभने एमाले सभामुख छाड्ने पक्षमा छैन ।
यता, संसदको पहिलो दल नेपाली कांग्रेसले पनि सभामुख उमेदवार कसलाई बनाउने टुंगो लगाइसकेको छैन । कांग्रेसमा अर्जुननरसिंह केसी, रमेश लेखक लगायतलाई सभामुख बनाउनुपर्ने केही नेताहरुको तयारी छ । तर, पार्टी सभापति देउवाले कसलाई सभामुखको उमेदवार बनाउँछन् भन्ने जानकारी कांग्रेसकै नेताहरूलाई समेत छैन ।
प्राथमिकतामा राष्ट्रपति, सभामुखमा ‘च्याखे’ दाउ
माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दियो । पार्टीभित्रै देखिएको असन्तुष्टिका बाबजुद सभापति शेरबहादुर देउवाले विश्वासको मत दिएरै छाड्ने निर्णय लिए । कार्यसम्पादन समिति बैठक हुँदै संसदीय दलको बैठकभित्रै निर्णय गराएर विश्वासको मत माओवादीलाई दिए ।
सभापति देउवाले कांग्रेसलाई राष्ट्रपति पाउनेगरि विश्वासको मत दिने राजनीतिक माहोल तयार पारेको दाबी देउवा निकट नेताहरूको छ । प्रचण्ड–देउवाबीच शक्ति राष्ट्रको दबाबका कारण त्यो सहमति बनिसकेको देउवा निकट एक सांसद तथा केन्द्रीय सदस्यले दाबी गरे । उनले कांग्रेसले सभामुख पद भन्दा पनि राष्ट्रपति बन्ने तयारी गरिरहेको बताए । यसमा प्रचण्ड र माओवादी केन्द्र पनि सहमत भएको दाबी ती सांसदको छ ।
‘हामीले सभामुखलाई च्याखे थाप्ने अस्त्र मात्र बनाएका छौं । हाम्रो चाहना सभामुख उपसभामुखभन्दा धेरै राष्ट्रपति हो,’ ती सांसदको दाबी छ, ‘अघिल्लो गठबन्धन हामीले जोगाउन सकेनौं । त्यो भन्दैमा सबै गुमाउने हाम्रो उद्देश्य हैन । त्यसकारण राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा हामीले खेल्ने हो । राष्ट्रपतिमा हाम्रो ध्यान केन्द्रित छ ।’ ती सांसदले माओवादीले सभामुख पाए कांग्रेसले उमेदवारी नदिने समेत दाबी गरे ।
कांग्रेस माओवादी सहकार्य हुने भन्दै उनले प्रदेशमा पनि माओवादीले उमेदवारी दिएको पदमा कांग्रेसले उमेदवारनै नउठाएको बताए । ‘प्रदेश १ मा सभामुख माओवादीले पायो हामीले उमेदवारी दिएनौं । वाग्मतीमा माओवादीले मुख्यमन्त्री उठायो विश्वासको मत हामीले दियौँ तर राप्रपाले सभामुख पाउँदा हामीले उमेदवार बनायौं,’ ती सांसदले भने, ‘हो यही सहकार्य राष्ट्रपति चुनावमा हुन्छ । केन्द्रमा सभामुख माओवादीले पाएको भए हामीले उमेदवार दिने थिएनौं । एमाले पाए उमेदवार कोही उठाउँछौं ।’
गएको पाँच वर्षमा राष्ट्रपति र सभामुख पदको महत्व बढेको छ । नागरिकता विधेयक र संसद् विघटनको घटनाले आलंकारिक पद राष्ट्रपतिमा दलहरूको चासो ह्वात्तै बढेको हो । देउवा निकट ती सांसद पनि गोप्य हुने राष्ट्रपतिको मतदानमा माओवादी–कांग्रेस गठबन्धनलाई कायम राख्ने र अरु दललाई विश्वासमा लिएर आफूहरु सफल हुने तर्क गर्छन् ।
‘प्रदेशले पनि मत हाल्न पाउँछ । हामीले माओवादीलाई सहयोग गरेका कारणले उसले हामीलाई मत हाल्छ किनभने राष्ट्रपतिको चुनावमा गोप्य मतदान हुन्छ,’ उनले दाबी गर्दै थपे, ‘राजनीति सम्भावनाको खेल हो । अंकगणित भोलि नमिल्ला फरक कुरा हो । तर, हामी प्रदेशतिर नेकपा एस, जसपा लगायत अरु दललाई पनि मिलाएरै छाड्छौं ।’
कांग्रेसको केहीदिन अघि बसेको पदाधिकारीसहितका नेताको बैठकले पनि सभामुख निर्वाचनका लागि अरु दलसँग संवाद थाल्ने निर्णय गरेको थियो । अर्थात् सबै दलहरूसँग संवाद गरेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमध्ये सकेजति पद लिने तयारी कांग्रेसले गरेको छ । प्रवक्ता प्रकाशरण महत राष्ट्रपति पाएको खण्डमा आफूहरुले सभामुखमा उमेदवार नै नबनाउने तयारीमा रहेको बताउँछन् ।
सभामुख र राष्ट्रपति महत्वको पद र साझा बनाउनुपर्ने भएकाले पनि कांग्रेसको स्वाभाविक दाबी रहने कथन उनको छ । प्रवक्ता महतले उपराष्ट्रपति र उपसभामुख पनि सरकारसँग नजोडिने भएकाले पनि कांग्रेसले पाउनुपर्ने बताए । उनले सहमति नभए कांग्रेसले निर्वाचनको मैदान खाली नछाड्ने पनि जिकिर गरे ।
‘राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुख पद सरकारसँग जोडिएको विषय हैन । यसलाई साझा बनाउन कांग्रेसले पाउनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘सहमति हुन्छ भने फरक विषय भयो । तर, उहाँहरुले कसरी लिनुहुन्छ । सहमति नभए हामी मैदान खाली गर्दैनौं ।’ तर, कसलाई उमेदवार बनाउने भन्ने विषयमा भने महतले कुनै जानकारी दिएनन् । बरू विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले खेल्ने भूमिका पनि महत्वपूर्ण हुने उनको तर्क छ ।
‘हामीले संवाद र छलफल अघि बढाएका छौं । ४ पदको विषयमा प्रमको भूमिका महत्वपूर्ण देखिन्छ । उहाँको लागि पनि परीक्षणको घडी अहिले हो,’ उनले भने । पार्टी सभापति देउवा विश्वासपात्र महतको भनाईले पनि विश्वासको मत दिनुपूर्व कांग्रेस माओवादी सहमति भएको स्पष्ट संकेत गर्छ । संवैधानिक पदहरूको बाँडफाँटमात्र नभएर ओली–दाहाल विश्वास तहलाई पनि इंगित गरेको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखक सभामुखका निर्वाचनका लागि सत्ता गठबन्धनको कदमअनुसार कांग्रेसले थप रणनीति तर्जुमा गर्ने बताउँछन् । ‘हामीले अन्य दलसँग संवाद अघि बढाउने निर्णय गरिनै सकेका छौं । संवाद अघि बढाउँछौं,’ लेखकले भने, ‘सरकार कसरी प्रस्तुत हुन्छ त्यो पनि हेरौं । हामी सत्तारुढ दलले चाल्ने कदमअनुसार निर्णय गरेर अघि बढछौं ।’
सत्यपाटी संवाददाता । काठमाडौं