सूचनाको शक्ति - The Power Of Information

        

विमान दुर्घटना

आज देशभर शाेककाे बिदा, बैंक तथा वित्तीय संस्था भने खुला रहने

राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

पोखरामा भएको यती एयरको विमान दुर्घटनाको शोकमा सरकारले आज सार्वजनिक विदाकाे घाेषणा गरेकाे छ। आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

सरकारले आजकाे लागि घाेषणा गरेकाे शाेक विदामा अत्यावश्यक सेवाभने पर्दैन। आज बैंक तथा वित्तीय संस्था खुला रहने छन्

मन्त्रिपरिषद्को बैठकपछि गृह मन्त्रालयले जारी गरेको सूचनामा अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर सोमबार सार्वजनिक बिदा हुने उल्लेख छ।

नेपाल सरकारले राजपत्रमा २०७६ साल असोज २७ गते प्रकाशन गरेको सूचना अनुसार बीमा बैंक तथा वित्तीय सेवाप्रदायक संस्थासमेत अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले बीमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थाको कार्यालय खुल्ने भएका हुन्।

राजपत्रको सूचनाको बुँदा नम्बर १५ मा बैंक सेवा र १६ नम्बरका बीमा सेवालाई अत्यावश्यक सेवाको सूचीमा समावेश गरिएको छ।

गृह मन्त्रालयको सूचनाअनुसार अत्यावश्यक सेवाको सूचीमा समावेश रहेको दूरसञ्चार सेवा, यातायात सेवा, ढुवानी सेवा, स्वास्थ्य उपचार सेवा, पर्यटन सेवा, पेट्रोलियम पद्धार्थ ढुवानी सेवा, विद्युत सेवा, छापाखाना सेवा, आन्तरिक सुरक्षा सेवालगायतको सेवा प्रवाह गर्ने कार्यालयसमेत खुल्ला रहने भएका छन्।

आइतबार बिहान काठमाण्डौ‌बाट पोखराका लागी १०ः३३ बजे उडेको यती एयरको विमान पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएर आगलागी हुँदा चालक दलका ४ जना सहित सबै ७२ जनाको मृत्यु भएको अनुमान गरिएको छ।

मृतकमध्ये ६८ जनाको शव घटनास्थलबाट उद्धारकर्मीले बरामद गरिसकेका छन्। आन्तरिक हवाई सेवामा पहिलो पटक ७२ सिटे विमान दुर्घटनामा परेर सवार सबैको ज्यान गएको हो।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार ०७:४५