सूचनाको शक्ति - The Power Of Information

        

विमानमा सवार ६८ जनाको शव निकालियो, चार जना अझै बेपत्ता

पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा परेका चार जनाको अवस्था अज्ञात रहेको छ । चालक दलका चारसहित विमानमा ७२ जना यात्रु थिए ।

त्यसमध्ये अहिलेसम्म ६८ जनाको शव भेटिएको छ । बाँकी ४ जनाको अवस्था भने अझै अज्ञात रहेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली परिचालन गरिएको छ । दुर्घटनाका मृतक ६८ मध्ये ११ जनाको खनाखत भइसकेको छ । बाँकी चार जना भने अझै वेपत्ता छन् ।

विहान १० बजेर ३३ मिनेट जाँदा काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एनवाइटी–६९१, ९ एन–एएनसी विमान काठमाडौंबाट उडेको १८ मिनेटमा विमान अवतरण हुनै लाग्दा पोखरास्थित सेती खोचमा दुर्घटना भएको थियो । विमान पोखरा टावरसँग १० बजेर ५० मिनेटमा सम्पर्कमा आएको थियो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतवार १७:४९