सूचनाको शक्ति - The Power Of Information

        

संसयपूर्ण राजनीति

प्रचण्डको धारणाले एमालेमा त्रास

नेपाली कांग्रेस र अन्य दलबाट पनि विश्वासको मत पाइसकेकाले प्रधानमन्त्रीबाट धोका हुनसक्ने नेकपा एमालेको आशंका छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार केही मिडियाका सम्पादकसँग सरकारी निवास बालुवाटारमा संवाद गरेका छन् । उक्त संवादमा प्रधानमन्त्रीले राखेको एक धारणाले एमालेजनमा त्रास पैदा भएको छ ।

प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘एमालेसँग सरकार बनाइसकेपछि कांग्रेस स्वतः प्रमुख प्रतिपक्ष दल बनेको निश्चित हो । तर कांग्रेसले पनि विश्वासको मत दिएपछि अब कांग्रेसप्रति मेरो पनि दायित्व हुने नै भयो ।’

प्रधानमन्त्रीले घुमाएर भने पनि सिधा अर्थमा ‘कांग्रेसलाई पनि भागशान्ति पुर्याउनुपर्ने दायित्व आइलाग्यो’ भनेका हुन् । त्यो भन्दा पनि सिधा कुरा राष्ट्रपति र सभामुखको निर्वाचनमा कांग्रेसले भाग खोज्यो भन्न खोजेका हुन् ।

कांग्रेसले अप्रत्याशित रुपमा विश्वासको मत दिनुको उद्देश्य पनि प्रचण्डलाई फकाएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनमा साथ खोज्नु थियो । र, कांग्रेसले यी चारै पदको निर्वाचनमा दलहरूको साथ खोज्ने निर्णय गरिसकेको छ, आग्रह गरिसकेको छ ।

प्रधानमन्त्रीले सम्पादकहरुसँग यी चार पदको सन्दर्भमा पनि बोलेका छन् । र, कांग्रेससँग पनि छलफल गरेर मात्र यी चार पदको निर्वाचन गर्ने धारणा राखेका छन् । यस, विषयले पनि सत्तारुढ नेकपा एमालेलाई झन झस्को पर्ने भएको छ ।

प्रधानमन्त्रीले भनेका थिए, ‘माघ ३ गते सर्वदलीय बैठकमा कांग्रेससहित मलाई विश्वासको मत दिने दलहरूसँग राष्ट्रपति, सभामुख लगायत महत्वपूर्ण पदहरूमा के कसो गर्दा उपयुक्त हुन्छ भन्नेबारे छलफल गर्छु ।’

अहिलेकै अवस्थामा प्रधानमन्त्रीले कांग्रेस वा लोसपा लगायतका दलको साथ खोज्ने बेला भएको छैन । किनकि, विश्वासको मत पाइसकेका प्रचण्डलाई त्यस्तो खास अप्ठ्यारो अवस्था पनि छैन । तर, विश्वासको मत पाएपछि भने थप दबाबमा परेको देखिन्छ ।

विश्वास नलाग्दा नलाग्दै एमालेसँग सहकार्य गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका प्रचण्डलाई कांग्रेसले दिएको विश्वासको मतले केही राहत त मिलेको छ । तर, प्रधानमन्त्री स्वयंले भने झै स्वभाविक दायित्व पनि बढेको छ । अर्थात, कांग्रेसले दिएको विश्वासको मत भारी परेको छ ।

कांग्रेसले चलखेल बढाएको छ । प्रधानमन्त्रीले पनि ‘कांग्रेसप्रति मेरो दायित्व छ’ भनिरहेको अवस्थामा एमालेमा स्वभाविक दबाब बढेको छ । कांग्रेस र अन्य दलबाट पनि विश्वासको मत पाइसकेकाले प्रधानमन्त्रीबाट धोका हुनसक्ने एमालेको आशंका छ । शनिबार प्रधानमन्त्रीले सम्पादकहरूसँग राखेको धारणाले एमालेको आशङ्कामा बल पुगेका छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतवार १७:२१